इलेक्ट्रिक स्कुटर किन्नु अघि ध्यान दिनु पर्ने ५ कुरा-Sutra News

इलेक्ट्रिक स्कुटर किन्नु अघि ध्यान दिनु पर्ने ५ कुरा

बिहिबार, १६ असार २०७९

बिहिबार, १६ असार २०७९

पेट्रोलियम पदार्थको मुल्य दिनानुदिन बढ्दो अबस्थामा छ । अहिले विद्युतीय सवारी साधनतर्फ मानिसहरुको आकर्षण पनि बढ्दो छ । प्रयोगको हिसावले पेट्रोलियम पदार्थ भन्दा बिजुली नै किफायती देखिन्छ । कुनै बेला १८ घण्टा लोडसेडिङको मार खेप्नु परेका हामी नेपालीलाइृ सरकारले पनि बिजुलीको खपत बढाउन अपिल गरिरहेको छ ।



पछिल्लो समय नेपालमा मात्रै होइन विश्वभर नै इन्धनको मुल्य वृद्धि भइरहेको छ । फलस्वरुप बिजुलीबाट चार्ज गरेर चलाउन मिल्ने दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको माग र उत्पादन तिव्र गतिमा बढिरहेको छ ।

नेपालमा चीनमा बनेका विद्युतीय सवारी साधनको बाहुल्यता छ । यस्तै भारतमा उत्पादन भएका कतिपय कम्पनीका विद्युतीय सवारी साधन पनि नेपाली बजारमा उपलब्ध छन् ।

यतिखेर हामी तपाईंलाई विषेश गरी दुई पाङ्ग्रे सवारी अर्थात इलेक्ट्रिक स्कुटरका बारेमा जानकारी दिंदैछौं । यदी तपाईं इलेक्ट्रिक स्कुटर किन्न खोज्दै हुनुहुन्छ भने यो सामग्री तपाईको लागि उपयोगी हुन सक्छ । किनकी यहाँ हामी तपाईंको आवश्यकता अनुसार उपयुक्त स्कुटर छान्न ध्यान दिनपुर्ने कुराहरुबारे चर्चा गर्दैछौं ।

१.रेन्ज
बिजुली स्कुटरमा केहि सिमितता हुन्छन् । मुल्य अनुसार मोटर र ब्याट्रीसँगै अन्य फिचरहरु राखिएका हुन्छन् । त्यसैले जति बढी रेन्ज भएको स्कुटर रोज्नुहुन्छ त्यसमा त्यति नै क्षमतावान मोटर र ब्याट्री राखिएको हुन्छ । त्यसैले रेन्ज बढी भएको स्कुटर अलि महंगो पर्छ भने रेन्ज कम भएका स्कुटर अलि सस्तो पर्न आउँछ ।

अहिले नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक स्कुटरहरु हेर्ने हो भने धेरैजसोले ६० देखि १२० किलोमिटर रेन्ज दिने गर्छन् । औसतमा भन्ने हो भने सिंगल ब्याट्री भएका यस्ता स्कुटरलाई फुल चार्ज गरेर लगभग ६० देखि ८० किलोमिटरको यात्रा गर्न खासै समस्या हुँदैन । त्यसैले तपाईं दैनिक कति किलोमिटर यात्रा गर्नुहुन्छ सबैभन्दा पहिला त्यसको हिसाबकिताब गर्नुहोस् ।

अफिस आउने र जाने मात्र हो भने एकपटकको चार्जले तपाईंलाई दुईचार दिन मजाले धान्न सक्छ । शहरी र तराई क्षेत्रका लागि बिद्युतीय स्कुटर निकै उपयोगी हुनसक्छ । उकालो बाटो छैन भने यस्ता सवारी साधनले अलि बढी रेन्ज पनि दिने गर्छन् । दुईवटा ब्याट्री भएका स्कुटर पनि नेपाली बजारमा उपलब्ध छन् । जसले झण्डै २ सय किलोमिटरको रेन्ज दिने गर्छ । यस्तो स्कुटर अलि महंगो त पर्छ तर रेन्जको तनाव भने खासै लिइरहनु पर्दैन ।

२.मोटर
इलेक्ट्रिक स्कुटर कत्तिको क्षमतावान छ भन्ने कुरा त्यसमा भएको मोटरबाट थाहा हुन्छ । जति धेरै किलोवाटको मोटर भयो त्यति धेरै स्पीडमा स्कुटर कुद्न सक्छ । उकालो ओरालो वा धेरै लोड तान्न सक्ने नसक्ने भन्ने कुरा पनि मोटरकै क्षमतामा भर पर्छ । पेट्रोलबाट चल्ने स्कुटर चलाएको अनुभव छ भने सकेसम्म १५ सय वाट भन्दा माथिको स्कुटर किन्नु उचित हुनसक्छ ।

यदि साइकलबाट स्कुटरमा सिफ्ट हुन खोज्दै हुनुहुन्छ भने १ हजार वाट भन्दा कम क्षमताको मोटर भएका स्कुटर पनि बजारमा पाइन्छन् । तर पेट्रोलबाट चलाउने स्कुटरको जत्तिकै पावर होस् भन्ने चाहनुहुन्छ भने सकेसम्म बढी क्षमताको मोटर भएको स्कुटर किन्नु फाइदाजनक हुन्छ । मोटर जति बढी क्षमताको भयो त्यति नै तिव्र गतिमा स्कुटर कुद्ने हुँदा आफ्नो आवश्यकता अनुसार कम वा बढी क्षमताको मोटर भएको स्कुटर किन्न सकिन्छ ।

धेरै स्पीडमा स्कुटर कुदाउनुहुन्छ भने कम क्षमताको मोटर भएको स्कुटर किन्दा पछि पछुतो हुनसक्छ । अहिले ४ हजार वाट सम्मको मोटर भएका स्कुटरसमेत बजारमा आउन थालिसकेका छन् । तर अहिलेको अवस्थामा २ हजारदेखि ३ हजार वाट क्षमताको मोटर भएको स्कुटर किन्नु भयो भने छिटो चलाउने वा ढिलो चलाउने दुबैको लागि उपयोगी हुनसक्छ ।

३. ब्याट्री
अहिलेका अधिकाँस विद्दुतीय स्कुटरमा लिथियम आयन ब्याट्री राखिएको हुन्छ। यस्ता स्कुटरको सबैभन्दा महंगो सामान मध्ये ब्याट्री पहिलो नम्बरमा नै पर्छ । त्यसैले ब्याट्री राम्रो छ भने स्कुटरको मुल्य पनि बढी हुन्छ । लिथियम आयन ब्याट्रीलाई सुरक्षितसँगै टिकाउ पनि मानिन्छ । यस्ता ब्याट्रीहरु विभिन्न भोल्टेज र एम्पीयर क्षमताका हुन्छन् । स्कुटरमा ठूलो क्षमताको मोटर राखिएको छ भने त्यो मोटरलाई चलाउन ब्याट्री पनि बढी क्षमताकै आवश्यक पर्छ । त्यसैले ब्याट्रीबारे पर्याप्त सोधपुछ गरेर मात्रै बिजुली स्कुटर किन्नुपर्छ ।

४.चार्जीङ समय
स्कुटरमा मोटर क्षमतावान छ, ब्याट्री पनि राम्रो छ भने अवश्य पनि त्यस्ता स्कुटरले रेन्ज पनि राम्रै दिन्छन् । तर ब्याट्री चार्ज हुन कति समय लाग्छ ? स्कुटर खरिद गर्नुअघि त्यो ख्याल गर्नुपर्छ । सबै कुरा राम्रो हुँदा हुँदै पनि ब्याट्री चार्ज गर्न रातभरी लाग्ने अवस्था छ भने दिनमा यात्रा गर्दा जुनसुकै बेला धोका हुनसक्छ । फास्ट चार्जिङ सपोर्ट गर्ने स्कुटर छ भने यात्राका क्रममा अपरझट्ट ब्याट्री सकिएपनि केहि घण्टा चार्जमा राखेर गन्तव्यमा पुग्न सकिन्छ । त्यसैले सकेसम्म फास्ट चार्जिङ सपोर्ट गर्ने खालको स्कुटर किन्नु फाइदाजनक हुन्छ । अहिलेको समयमा ४ देखि ६ घण्टामा फुलचार्ज हुने स्कुटरलाई राम्रो मान्न सकिन्छ ।

५.वारेन्टी
जसरी मोबाइल वा ल्यापटपमा वारेन्टी ग्यारेन्टी हुन्छ, बिजुली स्कुटरमा पनि वारेन्टी ग्यारेन्टी उपलब्ध हुन्छ । विशेषगरी यस्ता स्कुटरको मोटर र ब्याट्रीमा २ वर्षसम्मको वारेन्टी दिइएको हुन्छ । स्कुटरले यदि राम्रो IPX रेटिङ पाएको छ भने पानी र धुलोले धेरै असर गर्दैन, त्यसैले स्कुटरले लामो समयसम्म काम दिन्छ । स्कुटरको मात्र नभई ब्याट्रीको लागि छुट्टै IPX रेटीङ प्राप्त स्कुटरहरु पनि बजारमा उपलब्ध छन् । सबैभन्दा महंगो सामान ब्याट्री भएकाले त्यसलाई पानी र धुलोबाट बचाउन ब्याट्रीमा IPX7 सम्मको रेटीङ प्राप्त स्कुटर पनि छन्। IPX5 वा त्यो भन्दा बढी रेटिङ प्राप्त स्कुटर छ भने धुलो र पानीले धेरै चिन्ता गरिरहनु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट