मोदी र पुटिनबीच टेलिफोनमा कुराकानी, वार्ताबाटै समस्या समाधान गर्न मोदीको जोड-Sutra News

मोदी र पुटिनबीच टेलिफोनमा कुराकानी, वार्ताबाटै समस्या समाधान गर्न मोदीको जोड

शुक्रबार, १७ असार २०७९

शुक्रबार, १७ असार २०७९

नयाँ दिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका बीचमा शुक्रबार टेलिफोनमा कुराकानी भएको छ । रुस – युक्रेन युद्धका बारेमा नै उहाँहरूको कुराकानी केन्द्रित रहेको दुवै तर्फका अधिकारीहरूले जनाएका छन् ।



कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री मोदीले वार्तामार्फत् नै युक्रेनसँगको विवाद अन्त्य गर्न पुटिनलाई आग्रह गरेका थिए ।

उनले वार्ताको माध्यमबाट नै समस्याको समाधान गर्नुपर्ने सुझाव आफूले सुरुदेखि नै राख्दै आएको र अहिले पनि त्यही अडानमा रहेको स्पष्ट पारेका थिए ।

आफू सँधै वार्ता र कूटनीतिक पहलबाट नै यस्ता कुराको निकास निकाल्न सकिन्छ भन्ने पक्षमा रहेको उनको भनाई थियो ।

भारतीय प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ, “युक्रेनसँगको विवादलाई कूटनीतिक र वार्ताको माध्यमबाट नै समाधान गर्नुपर्छ भन्ने आफ्नो लामो समयदेखिको पक्षधरता कायमै रहेको कुरा प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनसँग राख्नु भएको छ ।”

भारतले युक्रेनमाथि रुसले आक्रमण गरेदेखि नै आक्रमण तत्काल रोक्न र वार्ता मार्फत दुई देशीय समस्या समाधान गर्न आग्रह गर्दै आएको थियो । भारतकै पहल र दबाबमा केही वार्ता भएपनि निष्कर्ष निस्कन भने सकेको थिएन ।

दुई नेताका बीचमा विगतमा भएका अन्य सहमति र सम्झौताहरूको कार्यान्वयनका बारेमा पनि छलफल भएको छ ।

गत बर्ष सन् २०२१ को डिसेम्बरमा पुटिनको भारत भ्रमणका क्रममा भएका सम्झौता र सहमतिको कार्यान्वयनको अवस्थाका बारेमा पनि उनीहरूले समीक्षा गरेका थिए । विषेश गरेर दुई पक्षीय सम्बन्ध, व्यापार, कृषि सामग्री आदान प्रदानलगायतका विषयमा पनि उनीहरूले कुराकानी गर्नु भएको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट