लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला वलीले आवेगमा माओवादी कार्यकर्ता एकराज बस्नेतको घरमा गएर पदीय मर्यादा विपरीत कार्य गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन समितिले मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिवेदन बुझाउँदै वलीबाट पदीय मर्यादा विपरीत आवेगात्मक कमजोरी गरेको निश्कर्षसहितको प्रतिवेदन बुझाएको छ ।
‘एकराज बस्नेतले सापटी लगेको रकम फिर्ता नगर्दा राज्यमन्त्री वलीबाट आवेगात्मक कमजोरी हुन गएको देखियो’, छानबिन समितिका संयोजक शर्माले भने, ‘अन्य उपायबाट रकम असुली गर्नुपर्दथ्यो ।’ विमलाले एकराजसंग साढे ६ लाख रुपैयाँ सापटी दिएको रकम फिर्ता लिनुपर्ने छानबिनमा खुलेको संयोजक शर्माले बताए ।
प्रतिवेदन बुझ्दै मुख्यमन्त्री केसीले भने मन्त्रीलाई बदनाम गर्न सुनियोजित ढंगले घटना भएको विषय पनि उठेकाले त्यसको पनि छानबिन गरिने बताए । प्रतिवेदनको विस्तृत अध्ययन गरेर सरकारले आवश्यक कदम चाल्ने मुख्यमन्त्री केसीले बताए ।
विवादमा आएपछि राज्यमन्त्री वलीले असार १२ गते राजीनामा दिएकी थिइन भने १५ गते स्वीकृत भएको थियो ।
राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि हातपात गरेकी थिइन् ।
उक्त घटना छानबिनका लागि सरकारले आर्थिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा संयोजक, कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती र महान्याधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेको समिति गठन गरेको थियो ।
नेकपा एमालेबाट निर्वाचित श्रीमान उत्तरकुमार ओलीको निधन भएपछि बिमलाले तत्कालिन नेकपाबाट दाङको ३ को (ख) बाट उपनिर्वाचनबाट निर्वाचन जितेकी थिइन् । २०७७ साल फागुन २३ गते सर्वोच्चले नेकपा खारेज गरेपछि बैशाख १९ मा उनले माओवादी केन्द्र रोजेकी थिइन् ।