नेपाली दर्शकमाझ चिरपरिचित र प्यारो नाम हो– अनमोल केसी । चकलेटी हिरोको छवी बनाएका उनी अहिले नेपाली फिल्म क्षेत्रमा सबैभन्दा बढी पारिश्रमिक लिएर अभिनय गर्ने अभिनेतामा पर्छन् । फिल्म ‘हनी बनी’ छाडेपछि केही समय मौन देखिएका अनमोलले यसै हप्ता तीन–तीन वटा फिल्म साइन गरिसकेका छन् ।
एकै हप्तामा पुरानो फिल्मको सिक्वल रहेको ‘छड्के २’, सुदर्शन थापाको निर्देशन र पुजा शर्माको निर्माण रहेको एक अनटाइटल फिल्म र अर्को फिल्म ‘जेरी २’मा पनि अनुबन्धित भएका छन् ।
अनमोलले हप्तामा नै तीनवटा फिल्म साइन गरेको खबर बाहिरिए संगै केहीले भने उनको कमाई हिसाब गर्न थालेका छन् । यद्यपी अनमोलले लिने फिल्मको पारिश्रमिकले बजारमा ठूलै चर्चा कमाइरहेको हुन्छ । यसअघि मिलन चाम्सको ‘ब्याचलर बन्टी’ र झरना थापाको ‘ए मेरो हजुर ३’बाट ५० लाख पारिश्रमिक लिएको अनमोल आफैले स्विकारीसकेका छन् ।
यसअघिका फिल्महरुबाट अनमोलले लिएको पारिश्रमिकका आधारमा हिसाब गर्ने हो भने यो एक हप्तामै अनमोलको कमाई करोड बढी देखीन आउँछ । बुझिए अनुसार अनमोलले ‘छड्के २’ ५५ लाखमा साइन गरेका छन् । पक्कै पनि उनले साइन गरेका अन्य दुईवटा फिल्मबाट लिने पारिश्रामिक पनि करोड भन्दा बढी नै हुनुपर्छ ।
यसरी सरसर्ती हेर्दा अनमोलले ३ वटा फिल्मबाट लिने रकम नै डेढ करोडमाथि हुने देखिन्छ । पछिल्लो समय उनले अभिनय गरेको फिल्म ए मेरो हजुर ३ सोचे जस्तो सफल हुन सकेन । यसो त फिल्ममा चुजी क्यारेक्टर देखाउने अनमोल एकाएक एकै हप्तामा धेरै फिल्ममा अनुबन्धित भएपछि चलचित्र क्षेत्रमा विभिन्न गसिप चल्न थालेको छ ।