हिपहप रियालिटी सो ‘नेपहपको श्रीपेच’ को विषयमा विवाद भएपछि आयोजकहरूले विजेतालाई लगाईदिएको श्रीपेच धर्मगुरुलाई बुझाएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपाधि विजेता भाइबर साइमनले संगै गएर उक्त श्रीपेच धर्मगुरुलाई बुझाएका हुन् ।
प्रतियोगिताका बिजेता साइमनलाई पञ्च बुद्धको मुख भएको श्रीपेच उपाधिको रुपमा प्रदान गरिएको थियो । मेयर शाह उक्त कार्यक्रमको निर्णायक मण्डलका एक सदस्य थिए । मेयर तथा कार्यक्रमका निर्णायक समेत रहेका साहलेनै विजेतालाई उक्त श्रीपेच लगाइदिएका थिए ।
नेपालको पहिलो हिपहप रियालिटी शो भएको दाबी गरिएको नेपहपको श्रीपेचका आयोजकहरूले विजेतालाई श्रीपेच भन्दै धार्मिक महत्वको मुकुट लगाइदिएपछि विरोध सुरु भएको थियो ।
सो धार्मिक मुकुट दीक्षित बज्रयानका बज्राचार्य गुरुहरुले मात्र लगाउने पवित्र पञ्च बुद्ध मुख भएको उल्लेख गर्दै बज्राचार्य समन्वय परिषद्ले साङ्गीतिक कार्यक्रमको विजेतालाई श्रीपेचको रूपमा प्रयोग गरिएको भन्दै बिज्ञप्तिनै निकालेर आपत्ति जनाएका थिए । परिषदले उक्त कार्यलाई पुनः नदोहोर्याउन आयोजकहरुसँग आग्रह पनि गरेको छ ।