काठमाडौं – इंग्लिस प्रिमियर लिग विजेता म्यानचेष्टर सिटीले अर्जेन्टिनी युवा स्टार खेलाडी जुलियन अल्भारेजलाई अनुबन्ध गरेको छ ।
शुक्रबार सिटीले २२ वर्षीय अर्जेन्टिनी फरवार्ड तथा विंगर अल्भारेजलाई साढे पाँच वर्षको लागि अनुबन्ध गरेको जनाएको हो । जनवरीपछि आधा वर्षको लागि अल्भारेज पुनः अर्जेन्टिनी क्लब रिभर प्लेटमा लोनमा फर्कने बताइएको छ ।
अल्भारेज यो सिजन सिटीमा अनुबन्ध हुने चौथो खेलाडी बनेका छन् । यसअघि एर्लिङ हल्यान्ड, काल्भिन फिलिप्स र ओर्टेगा मोरेनो सिटीमा आवद्ध भइसकेका छन् ।
‘म निकै खुसी छु । सिटीबाट खेल्न तयार छु’, अल्भारेजले भनेका छन् ।
अल्भारेजले रिभल प्लेटमा सन् २०१८ को अक्टोबरमा डेब्यु गरेका थिए । त्यसयता, १२० खेलमा ५३ गोल गरेका छन् भने ३१ असिष्ट निकालेका छन् ।
यस्तै, अर्जेन्टिनी सिनियर टिमबाट गत जुनमा डेब्यु गरेका थिए । विश्वकप छनोट अन्तर्गत चिलीविरुद्ध डि मारियाको स्थानमा मैदान प्रवेश गरेका थिए ।
उनी जुलाईमा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जित्दा टोलीका सदस्य थिए । ९ क्याप जितेका उनले एक गोल गरेका छन् ।