श्रीलङ्का सङ्कट: राष्ट्रपति निवासमा प्रदर्शनकारीको प्रवेश, भीडलाई सम्हाल्न सुरक्षा निकायलाई धौ धौ !-Sutra News

श्रीलङ्का सङ्कट: राष्ट्रपति निवासमा प्रदर्शनकारीको प्रवेश, भीडलाई सम्हाल्न सुरक्षा निकायलाई धौ धौ !

शनिबार, २५ असार २०७९

शनिबार, २५ असार २०७९

श्रीलङ्काको राजधानी कोलम्बोमा हजारौँ प्रदर्शनकारीहरू राष्ट्रपति गोटाबय राजपक्षको सरकारी निवास र त्यस आसपासका भवनहरूमा प्रवेश गरेका छन्।



समाचारहरूमा राष्ट्रपतिलाई सुरक्षित स्थानमा लगिएको भनिएको छ।

दशकौँ यता श्रीलङ्काले भोगिरहेको खराब आर्थिक सङ्कटलाई राष्ट्रपतिले सही ढङ्गले सम्बोधन नगरेको भन्दै आक्रोशित प्रदर्शनकारीको भीडलाई सम्हाल्न सुरक्षा निकायलाई धौ धौ परेको समाचारहरूमा जनाइएको छ।

कोलम्बोको सरकारी क्षेत्र प्रवेश गर्ने क्रममा आन्दोलनकारीहरूले राष्ट्रपतिको राजीनामा माग्दै “गोटा गो होम” नारा लगाएका थिए।

एक जना वरिष्ठ रक्षा अधिकारीले एएफपी समाचार संस्थासँग भनेका छन्, “राष्ट्रपतिलाई सुरक्षित रूपमा बाहिर लगिएको छ। उनी अझै पनि देशका राष्ट्रपति हुन्। उनलाई सेनाको युनिटले सुरक्षा दिइरहेको छ।”

पछिल्लो सङ्कटका माझ प्रधानमन्त्री रनिल विक्रमासिङ्गले दलका नेताहरूको आपत्कालीन बैठक बोलाएका छन्।

यसअघि राजधानी कोलम्बोमा जम्मा भएको ठूलो भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन्।

देशका विभिन्न भागबाट प्रदर्शनमा भाग लिन सयौँ मानिसहरू कोलम्बो आएका थिए।

सरकारले कर्फ्यू लगाउने भने पनि पछि त्यसलाई फिर्ता लिएको थियो।

त्यहाँ हजारौँ प्रहरी र सैनिकहरू परिचालन गरिएका छन्।

श्रीलङ्काले अहिले खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ।

प्रहरी अवरोध पार गर्दै राष्ट्रपति गोटाबयको सरकारी निवासतर्फ प्रदर्शनकारीहरू अघि बढ्न खोजेपछि तनाव उत्पन्न भएको थियो।

केही प्रदर्शनकारीहरू राष्ट्रपति भवनको पर्खालमा चढेर भित्र प्रवेश गरेका थिए। प्रदर्शन भइरहेका क्षेत्रमा सैनिकहरू खटाइएका छन्।

प्रहरीले भीड तितरबितर गर्न हावामा गोली चलाएको थियो।

भिडिओ फूटेजहरूमा कैयौँ घाइतेहरूलाई अस्पताल लैजाँदै गरेको देखिन्छ।

बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट