भोजपुरी फिल्मका हिरोइन बनाइदिने भन्दै बालिका बिक्री गर्ने दुई जना पक्राउ परेका छन् । बिक्री भएको ठाउँबाट भागेर आएका बालिकाले दिएको बयानका आधारमा पर्सा प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्ने भारत बिहार जिल्ला सितामढी, बासपट्टी पचरा बस्ने २२ बर्षीय रोशन तिवारी र साविक रौतहट जिल्ला गौर नगरपालिका वडा नं. २ की ४० बर्षीया चमेली देवी रहेका छन् । चमेली हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा बस्दै आएकी थिइन् । अभियुक्तद्वयले बेचेको ठाउँबाट ती १५ बर्षीय बालिका भागेर आफन्त हुँदै प्रहरी सम्पर्कमा आएकी थिइन् ।
पीडित बालिकाले दिएको बयानका आधारमा उनीलाई वीरगन्जबाट नै पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरिक्षक प्रल्हाद कार्कीले बताए । भोजपुरी फिल्ममा हिरोइन बनाईदिने भन्दै वीरगन्जकै पीडित बालिकालाई अभियुक्तहरुले २०७८ साल माघ १२ गते ललाई फकाई लगेर एक भारतीयलाई ३० हजारमा बेचेको खुलासा भएको हो । बालिकालाई किन्ने त्यो व्यक्तिले विभिन्न कार्यक्रममा अश्लिल नृत्य गर्न बाध्य बनाई कसैसँग सम्पर्क गर्न नदिई शारिरीक र मानसिक यातना दिदै आएको पनि बालिकाको भनाइ उदृत गर्दै प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका तिवारी र चमेलीलाई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ । खरिद गर्ने भनिएका भारतीय भने अहिले फरार रहेकोले उनको पनि खोजी कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा मुद्दा अगाडी बढाउँदै थप अनुसन्धान पनि भइरहेको पर्सा प्रहरीले जनाएको छ । राजधानी