सुडानको राजधानी खार्तुमबाट विमान उडेको केही बेरमै एक बिरालोले ककपिटमा पाइलटमाथि आक्रमण गर्दा यात्रुवाहक विमान पुनः विमानस्थल फर्काउनुपरेको छ ।
आक्रोशित बिरालो कसरी ककपिटमा पसेको हो थाहा हुन सकेको छैन ।
तार्को एयरलाइनको विमान खार्तुमबाट कतारको राजधानी दोहा जान लागेको बेलामा यस्तो अनौठो घटना हुन पुगेको हो ।
विमान उडेको लगभग आधा घन्टापछि बिरालोलाई पाइलटको क्याबिनमा भेटिएको थियो ।
उडिरहेको विमानमा बिरालो आत्तिएर आक्रामक हुन पुगेको थियो र विमान कर्मचारीहरूमाथि आक्रमण गर्न पुगेको थियो । त्यसमा नियन्त्रणमा लिने सबै प्रयास विफल भएपछि पाइलटले विमान फर्काएर खार्तुम नै लग्ने निर्णय लिए ।
उक्त विमान खार्तुम विमानस्थलको ह्यांगरमा राति राखिएको र सफाइका लागि ढोका खोलिँदा बिरालो सुट्ट पसेको हुन सक्ने बताइएको छ ।