राष्ट्रपतिको देश छाडेर भाग्ने प्रयास असफल, यस्तो छ कारण-Sutra News

राष्ट्रपतिको देश छाडेर भाग्ने प्रयास असफल, यस्तो छ कारण

बुधबार, २९ असार २०७९

बुधबार, २९ असार २०७९

राष्ट्रपति पदबाट बुधबार राजीनामा दिने बताउँदै आएका संकटग्रस्त श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले सोमबार राति नै देश छाडेर दुबई भाग्ने प्रयास गरेको खुलासा भएको छ ।



यद्यपि, उनको सो प्रयास भने सफल हुन सकेन । विमान चढेर भाग्न लागेका राष्ट्रपति गोताबाय विमानस्थलका कर्मचारीको अवरोधपछि अपमानजनक रूपमा फर्किन बाध्य भएको समाचार एजेन्सीले उल्लेख गरेका छन् ।

अपमानजनक रूपमा फर्कन बाध्य, आज राजीनामा दिँदै

गोताबायको यो प्रयासलाई उनले राष्ट्रपति पदबाट राजीनामा नदिई मुलुकबाट भाग्न खोजेको रूपमा अथ्र्याएका छन् । तर, उनले बुधबारबाट लागू हुनेगरी राष्ट्रपति पदबाट राजीनामा दिने पत्रमा हस्ताक्षर भने गरेका छन् । राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा बुधबार हुने समाचार एजेन्सीले लेखेका छन् ।

एजेन्सीका अनुसार राष्ट्रपति गोताबाय दुबई जान आएको थाहा पाएपछि अध्यागमनका कर्मचारीले उनलाई पासपोर्टमा छाप लगाउन विमानस्थलको भीआईपी क्षेत्रमा प्रवेश गर्न नै दिएनन् ।

भीआईपी क्षेत्रमा प्रवेश गर्न नसकेपछि उनीसँग अर्काे विकल्प भनेको सर्वसाधारणले प्रयोग गर्ने लाइन बाँकी थियो । तर, भीडले हुलदंगा गर्ने डरले उनले यो विकल्प पनि प्रयोग गर्न सकेनन् । विमानस्थलमै रहेको अवस्थामा चारवटा उडान छुटेपछि उनी पत्नीसहित नजिकैको सैन्य शिविरमा फर्किन बाध्य भएका थिए ।

कतिपय अधिकारीले राष्ट्रपति गोताबाय नौसेनाको डुंगाबाट श्रीलंका छाडेर भाग्ने आशंका पनि गरेका छन् ।

श्रीलंकाको कानुनअनुसार पदमा रहुन्जेल राष्ट्रपतिलाई पक्राउ गर्न मिल्दैन । त्यसैले पदत्याग गर्नुअघि नै उनी विदेश जान चाहेको रूपमा अथ्र्याइएको छ । राष्ट्रपतिबाट राजीनामा दिएपछि पक्राउमा पर्ने डर उनीमा छ ।

उनीमाथि भ्रष्टाचार र आर्थिक अव्यवस्थाका साथै युद्धअपराधको आरोप छ । रक्षा सचिव हुँदा अल्पसंख्यकविरुद्धको गृहयुद्धमा कयौंलाई बेपत्ता बनाएको र गैरकानुनी हत्या गरेको आरोप उनीमाथि लाग्दै आएको छ ।

एजेन्सीहरूका अनुसार, राष्ट्रपति गोताबायका भाइ एवं पूर्वअर्थमन्त्री बेसिल राजापाक्षेलाई पनि सोमबार साँझ संयुक्त अरब इमिरेट्सको दुबई जाने हवाइजहाज चढ्नबाट रोकिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

देशमा जारी चरम आर्थिक संकटका बेला बासिलले श्रीलंका छोड्ने प्रयास गरेकामा त्यसको हवाइजहाजका यात्रीले घोर विरोध गरेपछि अध्यागमन अधिकारीले उनलाई विमान चढ्न नदिएका डेली मिररले छापेको छ । उनी अमेरिकी नागरिकसमेत हुन् ।

राजापाक्षे परिवारका सदस्यले श्रीलंका छाडेर भाग्ने प्रयास गरेपछि पूर्वअर्थमन्त्री बेसिल, महिन्दा, प्रधानमन्त्री रनिल विक्रमासिंगे र अन्य अधिकारीलाई देशबाहिर जान प्रतिबन्ध लगाउने आदेश दिन मंगलबार सर्वोच्च अदालतमा निवेदनसमेत परेको छ ।

श्रीलंकाको अवस्था अलि तनावग्रस्त छ । शनिबार राष्ट्रपति भवनमा प्रवेश गरेका हजारौं प्रदर्शनकारी त्यहाँ क्यारम बोर्ड खेलेको, सोफामा सुतिरहेको, बगैंचामा रमाइलो गरेको र भान्सामा खानाका लागि खाना तयार गरेका दृश्य सार्वजनिक भएका थिए । राष्ट्रपति र प्रधानमन्त्रीले पदबाट राजीनामा नदिएसम्म उनीहरूले राष्ट्रपति भवनबाट बाहिर ननिस्कने बताएका छन् ।

उता, प्रधानमन्त्री रनिल विक्रमासिंगले बुधबार नै अस्थायी राष्ट्रपतिका रूपमा शपथ लिने छन् । संसद्बाट नयाँ राष्ट्रपति चयन नभएसम्म उनले नै शासन सञ्चालन गर्नेछन् ।

सभामुखले आगामी ४ साउनमा संवैधानिक प्रावधानअनुसार नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरिएको जानकारी राजनीतिक दलका नेतालाई दिएका छन् । राष्ट्रपति पदका लागि ३ साउनमा उम्मेदवारी मनोनयन गरिनेछ ।

प्रधानमन्त्री रनिल विक्रमासिंगे र विपक्षी दलका नेता सजिथ प्रेमदासा उम्मेदवार बन्ने पुष्टि भइसकेको छ । प्रेमदासाले देशको अर्थतन्त्र पुनर्निर्माण गर्न आफू तयार रहेको जानकारी दिइसकेका छन् ।

यसअघि प्रधानमन्त्री विक्रमासिंगेले पनि पदबाट राजीनामा दिने घोषणा गरेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले पदबाट राजीनामा नदिएसम्म त्यहाँबाट बाहिर ननिस्कने स्पष्ट पारेका छन् । राजधानी दैनिक

kin

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट