काठमाडौँ – वर्तमान सरकार गठन भएको एक वर्षमा मुलुको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । विशेषगरी एक वर्षको अवधिमा हवाई पूर्वाधारले सफलता हासिल गरेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ २ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।
गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरबका आयोजनामध्ये चाँडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । उनले गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनु मुलुकको हवाई उड्डयन इतिहासमा महत्वपूर्ण फड्को मारेको र यसले मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले हवाई पूर्वाधार विकास र सेवा सुदृढिकरणमा प्राधिकरण लागि परेको बताए ।
सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले अवरोध भएको थियो । पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्म निर्माण सक्ने योजना रहेपनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएको हो ।
विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकिरणले जनाएको छ ।
हालसम्म विमानस्थलको मुआब्जासहित रु ३१ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । हाल कुवेतको जजीरा एयरले उडान भरिरहेको भैरहवा विमानस्थलमा अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि चासो देखाएका छन् ।
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनको तयारीमा छ । यो विमानस्थको भौतिक प्रगति करिब शतप्रतिशत भएको छ । लामोसमयदेखि चर्चामा रहेको बाराको निजगढमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सर्वोच्च अदालतको आदेशपछि अन्योलमा छ । तथापी प्रधानमन्त्रीसहित गठबन्धन दलका शीर्ष नेताहरुले हालै उक्त विमानस्थलको स्थलगत अवलोकन गरी पूर्ण क्षमताको अत्याधुनिक सुविधानसम्पन्न विमानस्थल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय गौरवको आयोजनाको रुपमा सूचीकृत निजगढ विमानस्थल निर्माणका लागि प्रारम्भिक चरणमा रु एक खर्ब २० अर्ब लाग्ने अनुमान गरिएको छ ।
नागरिक उड्डयन प्राधिकरणले यो परियोजनाको विस्तृत डिजाइन कार्य गरिरहेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयाोजकत्वमा निर्माण मोडालिटीसम्बन्धी सिफारिस समिति बनिसकेको छ । निजगढ विमानस्थलको नाममा आठ हजार ५० हेक्टर जग्गा अघिग्रह गरिनुका साथै परियोजनाका लागि प्राधिकरणले रु तीन अर्ब खर्च गरिसकेको छ । परियोजनासँग जाोडिएको द्रुत मार्गमा सरकारले रु दुई खर्ब लगानी भइसकेको छ ।
तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेको नौ महिने कार्यकालमा मन्त्रालयले उल्लेखनीय सुधारका कार्यक्रम गरेको छ । बतास समूहले व्यापारिक प्रयोजनका लागि हडपेको पशुपति धर्मशाला फिर्ता गर्नुका साथै नारायणहिटी सङ्ग्रहालयपरिसरको जग्गामा बतास समूहले बनाएको गैरकानूनी संरचना भत्काइएको छ । नेपाल वायुसेवा निगमभित्र देखिएको बेतिथि सुधारदेखि विमानस्थलको सेवा सुदृढिकरुण र नयाँ विमानस्थल निर्माणमा पनि देखिनेगरी काम भएको छ । मन्त्रालय र मातहन निकायलाई चुस्त र प्रभावकारी बनाउन नीतिगत सुधार सुशासनका लागि पनि उल्लेख्य प्रगति भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा टोकराज पाण्डेले बताए ।
सरकारले आगामी आर्थिक वर्ष वर्ष २०७९÷८० मा पर्यटन क्षेत्रको विकासका लागि रु ९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ । जसमा हवाई क्षेत्रको पूर्वाधार विकासका लागि मात्रै रु १२ अर्ब २४ करोड बजेट विनियोजन भएको छ ।
रात्रि बेस अनुरुप हवाई उडान
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विद्यमान हवाई चाप न्यूनीकरण, सुरक्षित उडानका लागि विमानस्थलमा अत्याधुनिक उपकरण जडानदेखि विमानस्थलको क्षमता विस्तारको काम निरन्तर भइरहेको छ । विमानस्थलमा दोस्रो टर्मिनल भवन बनाउने प्रक्रिया अघि बढेको छ भने विमनस्थलको उत्तरतर्फको क्षेत्रमा पार्किङस्थल विस्तारको काम भइरहेको छ । विमानस्थलको हवाई सुरक्षा र सेवा सुदृढिकरणका लागि यही असारको दोस्रो सातादेखि एयरलाइन्सले आफ्नो अप्रेशन बेस अनुरुप काठमाडौँ बाहिरका गन्तव्यमा जहाज बिसान गरी उतैबाट पहिलो उडान सञ्चालन गरिरहेका छन् । अन्तर्राष्ट्रिय उडान २४ सै घण्टा तथा आन्तरिक उडान दैनिक १८ घण्टा सञ्चालनमा ल्याइएको छ ।
निःशुल्क सटल बस सेवा
त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेशनमा निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याएको यो सेवाले ट्याक्सीवालाबाट ठगिरहेका जनतालाई ठूलो राहत मिलेको छ । यात्रुको आवतजावतमा सहज भएको छ ।
वैदेशिक रोजगारीमा जाने यात्रु ठगी वा अन्य कुनै समस्या परेमा विमानस्थलले व्यवस्था गरेको हटलाइनमा फोन गर्ने व्यवस्था मिलाइएको छ । वैदेशिक श्रम गन्तव्यमा जाने यात्रुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घर बनाइएको छ । नेपाल वायु सेवा निगमले दैनिक ४० जना वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सस्तो दरको टिकट प्रदान गर्दै आएको छ ।
सुशासन, नीतिगत सुधार तथा सेवा क्षेत्रलाई गुणस्तर अभिवृद्धिका लागि पनि महत्वपूर्ण प्रगति भएको छ । वायु सेवा निगमलाई उकास्न केही सकारात्मक प्रयास थालिएको छ । निगम र प्राधिकरणबीच हवाई टिकट तथा खतराजन्य पदार्थ (डेन्जरस गुड्स) कार्गो ओसारपोसार सम्झौता भएको छ । बजेट अभावमा स्तरोन्नति हुन नसकेका सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ ।
क्यासिनोबाट रु एक अर्ब असुल
पर्यटन मन्त्रालयले लामो समयसम्म बक्यौता नबुझाएका क्यासिनो सञ्चालकबाट करिब रु एक अर्ब असुलउपर गरेको छ । बाँकी रु दुई अर्ब ८८ करोड बक्यौता रकम नबुझाउने क्यासिनोको इजाजत रद्द गरिएको र त्यस विषय अदालतमा रहेको छ । बढी सङ्ख्यामा विदेशी पर्यटक भित्र्याउन विदेशस्थित नेपाली दूतावास, कूटनीतिक निकाय, गैरआवासीय नेपाली सङ्घलगायत निकाय र संस्थासँग साझेदारिमूलक कार्यक्रम अघि बढाइएको छ । मन्त्रालयका अनुसार कोभिड महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि प्रभावित होटललगायत पर्यटन व्यवसायसम्बन्धित व्यवसायिलाई आर्थिक वर्ष २०७९÷८० को वाार्षिक इजाजत र नवीकरण दस्तुर छुटको व्यवस्था गरिएको छ ।
इयूको हवाई प्रतिबन्ध हटाउन पहल
पर्यटन मन्त्रालयले युरोपेली सङ्घले नेपाललाई लगाएको उडान प्रतिबन्ध फुकुवाका लागि चरणबद्ध छलफल भइरहेको जनाएको छ । नेपालले हवाई सुरक्षामा गरेको प्रगतिलाई लिएर इयूसँग प्रतिबन्ध फुकुवाका लागि पहल भइरहेको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को अडिटले नेपालको हवाई क्षेत्रमा उल्लेख्य प्रगति भएको देखाएको छ ।
उडान सुरक्षा अटिटमा विश्वको औषत उडान सुरक्षा दर ६७ र एशिया प्यासिफिक दर ६३ प्रतिशत रहेकोमा सन्दर्भ नेपालले हवाई उडानको इतिहासमै पहिलो पटक ७०.१ प्रतिशत अङ्क प्राप्त गरेको र यो एशिया र विश्वको औषत अङ्क हवाई सुरक्षा तथा नियमनमा नेपालले गरेको प्रतिफल भएको प्राधिकरणले जनाएको छ ।
नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पदबहालीका क्रममा पहिलो निर्णय गर्दै विश्व सम्पदा सूचीमा रहेका स्वयंभू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका थिए। त्यस्तै कोभिड महामारीमा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको र त्यसलाई उकास्न अध्ययन प्रतिवेदनसमेत तयार भइसकेकोले ती प्रतिवेदनका आधारमा कार्यन्वयन गरिने उल्लेख गरेका थिए ।
विदेशी पर्यटक बढे
कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र तङ्ग्रिँदै गएको छ । पछिल्ला दिनमा पर्यटन क्षेत्र चालयमान बनेको छ भने पर्यटकीय गतिविधि पनि बढिरहेका छन् । यसलाई पुष्टि गर्ने दरिलो आधार भनेकै पर्यटक आगमनको आँकडा हो । सन् २०२२ को सुरुआती चरणदेखि विदेशी पर्यटक आगमनदर निरन्तर उकालो लागिरहेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
पछिल्लो मे महिनामा ५३ हजार ६०८ र जुन महिनामा ४६ हजार बढी विदेशी पर्यटक भित्रिएका छन् । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार कोभिड महामारीपछि अहिले पर्यटक आगमनमा करिब ७० प्रतिशत पुनरुत्थान भएको छ ।“पर्यटन समग्रमा ७० प्रतिशत पुनरुत्थान भइसकेको छ, यसमा भारत र बङ्गलादेशबाट नेपाल आउने पर्यटक बढेका छन् युरोपका केही मुलुकबाट पनि पर्यटक बढिरहेका छन् । आगामी वर्ष १० लाख पर्यटक पु¥याउने सरकारी लक्ष्य अनुरुप रणनीतिक योजनाको तयारीमा बोर्ड जुटेका छ ।” उनले भने ।