काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । शुक्रबार लामिछाने साम्पाङलाई भेट गर्न उनकै कार्यालय पुगेका हुन् । आफूहरुबीच भेट भएको बारे लामिछानेले जानकारी दिएका छन् । भेटमा लामिछानेले हर्कलाई शुभकामना दिएका छन् ।
भेटमा लामिछानेले हर्कलाई भने – ‘तपाइँलाई भेटेरै शुभकामना दिन आएको। खासमा मलाई श्रमदानमा पनि सहभागी हुने मन थियो। तर सकिएछ। जनताको एकदम अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला। सहकार्य जारी रहनेछ’
गएको स्थानीय तहको निर्वाचनमा हर्कले धरान उपमहानगरपालिकामा स्वतन्त्रबाट ठुला दललाई पराजित गर्दै निर्वाचित भएका थिए । लामिछानेले पनि केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । उनी आउँदो निर्वाचनमा काठमाडौंबाट लड्ने तयारी गरेका छन् ।