काठमाडौं – राष्ट्रिय सभाका सांसद जितेन्द्र नारायण देवले नेपाललाई ‘प्ले ग्राउण्ड’ बनाउने तिर संसारका शक्ति राष्ट्रहरु लागेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
‘नेपाललाई प्ले ग्राउण्ड बनाउने तिर संसारका शक्ति राष्ट्रहरु लागेका छन् । नेपाल प्ले ग्राउण्ड नबनोस्,’ सांसद देवले भने, ‘नेपालको कुनै पनि विषयमा निर्णय लिने सार्वभौम अधिकार नेपाल र नेपाली जनताको हो, तिमीहरु बोल्न पाउँदैनौं भन्न सक्नुपर्छ सरकारले ।’
नेपालको कूटनीतिमा केही चुनौत र केही खतराहरु देखिरहेको उनले बताए । नेपालको आन्तरिक विषयलाई लिएर दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीनले वाकयुद्ध गरिरहेकोमा उनले आपत्ति समेत जनाए ।
‘हिजो एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) पास हुँदाखेरी चीन एमसीसी पास हुनुहुँदैन भनेर खुलेर आयो । अमेरिका पास हुनुपर्छ भनेर आयो । एसपीपी (स्टेट पार्टनरसीप प्रोग्राम) पास पास होस् भन्ने अमेरिका चाहन्थ्यो । एसपीपीमा नजाने नेपालको निर्णयको चीनले खुलेर स्वागत गर्यो,’ उनले भने ।
नेपालमा कुन विषयमा कसरी जाने भन्ने निर्णय लिने अधिकार सार्वभौम नेपाली जनता र सरकारको अधिकार भएको उनले बताए । उनले चीन र अमेरिकालाई सम्बोधन गरेर एउटा कडा विज्ञप्ति जारी गर्न सरकारको ध्यानाकर्षण समेत गरे ।
केही दिनअघि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुखले गरेको नेपाल भ्रमण र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गरेको भारत भ्रमणलाई भने उनले सकारात्मक बताए ।