काठमाडौं – राष्ट्रिय सभाका सांसद सुरेश कुमार आलेमगरले सिंगापुर प्रहरीमा कार्यरत नेपालीहरुमाथि अन्याय भएको बताएका छन् । सोमबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले नेपालीहरु सिंगापुर प्रहरीमा बेचिएको दाबी समेत गरे ।
‘सन् १९४९ देखि सिंगापुर प्रहरीमा नेपालीलाई लगियो । सुरुमा १४९ जना लगिएको थियो, अहिले २ हजार नेपाली सिंगापुर प्रहरीमा क्रियासिल छन्,’ सांसद आलेमगरले भने, ‘उनीहरुको पहिचान स्पष्ट छैन । सिंगापुर प्रहरीमा कार्यरत नेपालीको सम्बन्ध कोसँग छ– बेलायत वा सिंगापुर सरकारसँग ?’
बेलायत सरकारले छनोट गरेर नेपाली युवाहरुलाई लग्ने र केहीलाई बेलायती सेनामा र केहीलाई सिंगापुर प्रहरीमा पठाउने गरेको उनले बताए । उनीहरुको तलव सिंगापुर सरकारले उपलब्ध गराउने तर मुल जिम्मेवारी कसको हो भन्ने स्पष्ट नभएको उनले जनाए ।
‘बेलायतमा भएका बेलायत सरकारको मातहतमा छन् तर सिंगापुरमा कार्यरतहरु को मातहत छन् ?’ सांसद आलेमगरले भने, ‘उनीहरुले पाउने तलव भत्तामा विभेद छ । उनीहरुले मात्र ५८५ सिंगापु्र डलर पाउँछन् । १९४९ मा जति तलव थियो त्यतिनै अहिले पाउँछन् ।’
सिंगापुर प्रहरीमा कार्यरत परिवारका सदस्य त्यहाँ गएपछि ब्यारेक भित्र कैदीबन्दी जस्तो बनेर बस्नुपर्ने उनले जनाए । प्रहरीका परिवारलाई सिंगापुरमा नोकरी गर्न नदिइने समेत उनले बताए ।
‘परिवारको काम सन्तान उत्पादन गर्ने बाहेक केही छैन । त्यहाँ कार्यरत प्रहरीका छोराछोरी २१ वर्ष पुरा भएपछि स्वदेश फर्किनुपर्छ । यस्तो समस्या ब्रिटिस गोर्खामा कार्यरतमा छैन,’ उनले भने ।