काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोकसेवा आयोगको परीक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्ने बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले यस्तो बताएका हुन् ।
उनले लोकसेवाको परीक्षा पारदर्शी नभएमा विश्वास पनि नहुने देखिएको बताएका छन् । उनले लेखेका छन् – ‘लोक सेवा आयोगको परिक्षा र अन्तर्वार्ता पनि लाइभ हुनु पर्छ ! नत्र विश्वास नहुने देखिन्छ !’
यस्तै मेयर साम्पाङले हतियार नभई औजार किन्नु जरुरी रहेको पनि बताएका छन् । उनले लेखेका छन् – ‘हतियार होइन औजार किनौँ ! देशका ठू…ला ठूला नेताहरुलाई म भुसुनोको अनुरोध ! एउटा झम्पल, एउटा गैंती, एउटा बेल्चा, एउटा हम्मर र एउटा डोको मलाई पठाइदिनु ! ‘
धरानबासीलाई खानेपानी खुवाउने मुख्य एजेन्डासहित गत वैशाख ३० को चुनावी अभियानमा होमिएका मेयर साम्पाङ अहिले धरानबासीकै मनमुटुमा नै बस्न सफल भइसकेका छन् । किनकी उनले आफूले बोले अनुसार धरानका केही ठाउँमा नयाँ स्रोत जुटाएर पानी ल्याइसकेका छन्।