काठमाडौं – नेपालका तीन कम्युनिष्ट पार्टीहरू पछिल्लो समय निरन्तर छलफलमा छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा हुनै लाग्दा गठबन्धनमा रहेका तीन दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र नेकपा एकता राष्ट्रिय अभियान नामक पार्टी छलफलमा जुटेका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका कम्युनिष्ट पार्टीहरूलाई वामपन्थी एकतामा आउन आग्रह गरिरहदा यी तीन दलहरु चुनावमा एकताको बिषयमा छलफल गर्न थालेका हुन् । मंगलबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा यी तीन दलको बैठक बसेको थियो ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी रहेका थिए । बैठकमा उनीहरुले विचार मिल्नेहरुसँग एकता गरेर अघि जाने निर्णय गरे । बैठकपछि प्रचण्डले नेकपाकालका एकै पार्टीका बहुमत सदस्यहरु एक ठाउँमा भएकाले विचार मिल्नेसँग एकीकरण गर्नेबारे छलफल भएको बताए ।
कम्युनिस्टहरुलाई एक ठाउँमा ल्याउने अभियानमा लागेका गौतम अहिले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग एकताको पक्षमा छन् । आउँदो चुनावमा आफूले गठन गरेको नेकपा एकता राष्ट्रिय अभियान नामक पार्टीलाई एकीकरण गर्न उनी लागिपरेको देखिन्छ ।
पहिले कम्युनिस्ट पार्टीहरुलाई एकता गराउने भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र ओलीलाई नजिक बनाउन खोजे पनि अहिले वामदेव स्वार्थ तर्फ लागेको देखिन्छ । आउँदो प्रतिनिधि सभा र संघको चुनाव नहुँदै कम्युनिस्टहरुलाई एकता गराउने उद्देश्य लिएका वामदेव मंगलबारको बैठकपछि वाहिरिने क्रममा केही बोलेनन् ।
अहिले राजनितिक अवस्था हेर्दा प्रतिनिधि सभा र संघको चुनावमा एमालेसँग एकताको सम्भावना कम देखिएको छ । एमालेका नेताहरुले पनि आगामी निर्वाचनमा एमालेले राष्ट्रिय स्तरको गठबन्धन नबनाउने बताइसकेका छन् । प्रचण्ड ओलीसँग मिल्न जाँदा नेपाली कांग्रेसलाई झड्का लाग्ने अनुमान लगाइएको थियो । तर त्यो अहिले सम्भव पनि देखिएको छैन । भारत भ्रमणपछि प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने कुरामा कुनै शंका नरहेको बताइरहेका छन् ।