काठमाडौं – साताको चौथो दिन बुधबार सेयरबजारमा झिनो अंकको सुधार आएको छ । बुधबार नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५० को विन्दुमा कायम भएको छ ।
चालु आर्थिक वर्षमा सेयर बजारमा क्रमिक सुधार देखिएको छ । तर, पनि कारोबार खासै माथि उक्लिन सकेको छैन । नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोडमाथिको कारोबार भएको छ ।
अघिल्लो दिन सुधार देखिएको कारोबार बुधबार पुनः घट्न पुगेको छ । १ अर्ब ७३ करोडमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको सेयर खरिदबिक्री भएको छ । कम्पनीको १६ करोड ४२ लाख रुपैयाँमाथि कारोबार भएको हो ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ७ करोड ३१ लाख, आइसीएफसी फाइनान्सको ५ करोड ३१ लाख, गोर्खाज फाइनान्सको ५ करोड २२ लाख र नेपाल पुनबिमा कम्पनीको ५ करोड २ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।