काठमाडौँ – निवर्तमान अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मासँग संसदीय छानबिन समितिले बयान लिएको छ । बिहिबार बिहान सिंहदरबारमा छानबिन समितिले शर्मासँग बयान लिएको हो । बयानका क्रममा शर्माले आफूले करको दर हेरफेर नगरेको बताए । उनले करको दर हेरफेर गरेर देशका लागि घात हुने काम नगरेको बयानमा बताए ।
उनले नियम कानुन र तोकिएको मापदण्ड अनुसार नै करका दर हेरफेर गरेको बताएको जनाइएको छ ।
उनले भने – ‘नियम कानुन र तोकिएको मापदण्ड अनुसार नै करका दर हेरफेर भएको हो । कुनै व्यक्तिको विवेक अनुसार करको दर तलमाथि भएको हैन । करको दर हेरफेरले बाहिर आए जस्तो नेपाली उद्योग नै बन्द हुने अवस्था छैन । नयाँ बजेट उत्पादन, रोजगारी र आत्मनिर्भर तिर जाने किसिमको छ ।’ उनले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको कुरा पनि गरे ।
बजेटमा करको दर हेरफेर गरेको र अनधिकृत व्यक्तिलाई छिराएको आरोप लागेपछि उनीबारे छानबिनको लागि संसदले संसदीय विशेष समिति गठन गरेको थियो । सोही समितिले बिहिबार शर्मालाई बयानको लागि बोलाएको थियो । छानबिन समितिमा सांसदहरू लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव र मानबहादुर विश्वकर्मा सदस्य रहेका छन् ।