एन आई सी एशिया बैंक आजबाट २५ औं वर्षमा प्रवेश गरेको छ । नेपालको बैंकिङ क्षेत्रमा छ्ट्टै पहिचान बनाउन सफल एन आई सी एशिया बैंकले देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै स्थापनाको २५ औं बर्षमा रजत जयन्ती मनाउन गइरहेको जनाएको छ ।
रजत जयन्तीका अबसरमा बैंकले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनिय योगदान दिने समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, शेयरधनीहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति आभार प्रकट गरेको छ ।
‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ । साथै आगामी दिनहरुमा अझ विश्वस्तरिय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट गर्दछौं,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस २५ वर्षको यात्रामा आर्थिक वर्ष ०५६/०५७ मा १ कित्ता बराबरको साधारण शेयरमा लगानी गर्ने शेयर धनीको हालसम्म आइपुग्दा उक्त शेयर संख्या १३.१२ कित्ता पुगेको जनाएको छ । प्रतिफल आजको बजार मूल्यमा रु. ९,५२०.९७ बराबर पुगेको छ । बैंकले स्थापनाकाल देखि हालसम्म कुल १९ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको जनाएको छ । गत अर्थिक वर्ष २०७८/७९ मा मात्रै ३ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएर सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित भएको छ ।
यसैबिच बैंकले गत आव २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणसमेत प्रकाशित गरेको छ । बैंकले आ.व. २०७८/७९ मा खुद मुनाफातर्फ रू. ४.५३ अर्ब आर्जन गर्न सफल भएकोे छ । जुन वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल १९.६५ प्रतिशत रहेको छ । साथै, प्रति शेयर आम्दानी तर्फ रू. ३९.१३ आर्जन गर्न बैंक सफल भएको छ, कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई ०.४९ प्रतिशतमा सीमित राख्न सफल भएको बैंकले जनाएको छ ।
हाल बैंकको मुलुकभर ३५९ शाखा कार्यालयहरू रहेका छन् । ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर संचालनमा छन् । त्यस्तै ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् पनि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । एनआईसी एशिया अहिले मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न पुगेको छ ।