मृगसँग सुनमायाको अनौठो प्रेम-Sutra News

मृगसँग सुनमायाको अनौठो प्रेम

सोमबार, ९ साउन २०७९

सोमबार, ९ साउन २०७९

काठमाडौं – काभ्रे नमोबुद्धकी सुनमाया लामा। उनको चार भाई छोरा छन्। पढाई र कामको शिलशिलामा छोराहरु घरमा खासै भेटिँदैनन्। तर अनौठो कुरा एउटा मृग भने उनीहरुको वरिपरी खेलिरहेकै भेटिन्छ। जंगली जनवारप्रति मानिसको आकर्षण हुनु नौलो कुरा होइन। यद्यपी मृगले नै यो जोडीलाई आफ्नो ठान्नु र जंगल नबसी घर सम्झेर आउनु चाहिँ चकित पार्ने विषय हो।



मृगले भर्खरै टुकुटुकु हिँड्न जानेका बच्चाले झैँ उनीहरुलाई पछ्याउँछ। बोल्न नजाने पनि विभन्न संकेत र इशाराले खानेकुरा माग्छ। जता गयो उतै अघि पछि कुद्छ। यस्तो लुटुपुटु गर्ने मृगले साँच्चै भन्ने हो भने आमाको जस्तै हेरचाह, स्याहारसँगै माया पाइरहेको छ। मृगको व्यवहारबाटै थाहा हुन्छ उसले लामा जोडीलाई आफ्नै ठानेको छ। त्यसैले होला छाडा छोड्दा पनि जंगलमा हत्तपत्त रात बस्दैन। कहिले काँहि गइहाल्यो भने पनि भोलीपल्ट झिसमिसेमै घर फर्किन्छ। लाग्छ उसलाई जंगल आफ्नो घर हो भन्ने फिटिक्कै लाग्दैन। जब जब मृग कुनै रात घर फर्किँदैन लामा जोडीलाई मुटुको टुक्रा हराए जत्तिकै छटपटी हुन्छ। जंगली जनावर हो जंगल तिरै बरालिन्छ कि भन्ने चिन्ता पनि लाग्छ। तर उनीहरुको मनको कुरा बुझे झैँ मृगले हत्तपत्त घर छाड्दैन।

कहिले काँहि छाडि हाले पनि फर्केर आउने बानी परिसकेको छ। त्यसैले लामा जोडीलाई पनि अहिले त धेरै ढुक्क भइसकेको छ। यो आत्मविश्वासले गर्दा मृग सँधै छाडा नै हुन्छ, जंगलमा जस्तै। उ कहिले बाख्राका पाठाहरु सँग खेल्छ त कहिले कुकुरसँग दोस्ती जमाउँछ। धेरैजसो समय चाहिँ उसलाई नयाँ जीवन दिने आमाकै अघिपछि गर्दै बिताउँछ।

एउटा जंगली जनावरलाई लामा जोडीले परिवारकै सदस्य मानेका छन्। उसको रुची अनुसारको खानपिनको व्यवस्था गरिदिएका छन्। आफ्नै सन्तानजस्तै मृगको नाम पनि राखिदिएकी छिन्। लामाले हेरेर जुराएर नै मृगको नाम ध्वनडुप राखिदिएका छन्।

२०७८ साल फागुन १३ गते यो मृगसँग सुनमायाको भेट भएको हो। भर्खरै जन्मिएको मृगको बच्चा बाँच्ला भन्ने उनलाई समेत खासै आशा थिएन। तै पनि न्यानोमा राखेर चम्चाले दुध पिलाइन्। आमाले छाडेको मृगको बच्चाले मान्छेबाटै आमाको स्याहार पायो। बिस्तारै तंग्रीँदै गयो। आफैँ हिँडडुल गर्न सक्ने भयो। अहिले बुर्कुसी मारेर घर र जंगलको यात्रा गर्ने भइसकेको छ।

छ महिनामै मृगको प्रगति देखेर सुनमाया दंग छिन्। साकाहारी भएकाले मृगप्रति उनको कुनै स्वार्थ छैन। न त कुनै लोभ नै छ। दैनिक, दुध, खर्बुजा, बिस्कुटसँगै मकै र पिठोहरु ख्वाइरहेकी छिन्। जंगली जनवारलाई पाल्न कानुनले दिँदैन भन्ने पनि उनलाई थाहा छ। तर मर्न लागेको प्राणीलाई नयाँ जीवन दिएकोप्रति उनलाई गर्व छ। कुद्न सक्ने जंगली जनावरलाई स्वतन्त्र रुपमा छाड्दा पनि उनकै वरिपरी रामाइरहेको देख्दा उनलाई औधी खुशी लाग्छ। माया भन्ने कुरा महसुस गराउन सक्यो भने जंगली जनावरले पनि आफ्नो ठान्दो रहेछ भन्न‍े सुनमायालाई लाग्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट