अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच साढे दुई घण्टा कुराकानी-Sutra News

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच साढे दुई घण्टा कुराकानी

शुक्रबार, १३ साउन २०७९

शुक्रबार, १३ साउन २०७९

वासिङ्टन – अमेरिका र चीनका राष्ट्रपतिबीच शुक्रबार साढे दुई घण्टा कुराकानी भएको छ । भिडियो माध्यममार्फत भएको कुराकानी द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय विविध विषयमा केन्द्रित भएको अधिकारीहरूले जनाएका छन् ।



अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले लामो कुराकानीका क्रममा केही विषयमा गहिरोसँग छलफल भएको जनाएको छ ।

वाइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि उनीहरूका बीचमा अहिलेसम्म पाँचपटक फोन तथा भिडियो कुराकानी भएको छ । बाइडेन अमेरिकाको उपराष्ट्रपति हुँदा उनकै निमन्त्रणामा सन् २०१५ मा सीले अमेरिका भ्रमण गरेका थिए। तर बाइडेन राष्ट्रपति भएपछि भने दुई नेताको भेट भएको छैन । पछिल्लो कुराकानीमा उनीहरूका बीचमा चाँडै नै भौतिकरुपमै भेटवार्ता गर्ने सहमतिसमेत भएको छ ।

साथै अहिलेको भिडियो कुराकानी विशेष गरेर ताइवान मामिलामा केन्द्रित भएको र एकअर्काप्रति कतिपय असहमति प्रकट गरेको जनाइएको छ ।अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पलोसी ताइवान भ्रमणमा जान लागेको चर्चा चलेपछि अमेरिका र चीनबीच तनाव थप बढेको छ ।

अमेरिकाले ताइवानलाई महत्व दिएर गलत भूमिका खेल्न खोजेको चिनियाँ अधिकारीहरूको भनाइ छ । सभामुख पलोसीले ताइवानको भ्रमण गरेमा राम्रो नहुने चेतावनी चीनले अमेरिकालाई दिँदै आएको छ । तर अमेरिकाको विदेश मन्त्रालयले भने पलोसीले ताइवानको भ्रमण गर्ने कुनै योजना नबनाएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट