काठमाडौँ – अर्थमन्त्रीमा जनार्दन शर्मा फेरि नियुक्त हुने भएका छन् । उनको शपथको पनि तयारी गरिएको जनाइएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई जनार्दन शर्मालाई फेरि अर्थमन्त्रीमा नियुक्त गर्न सिफारिस गरेको जनाइएको छ ।प्रधानमन्त्रीले शर्माको नाम राष्ट्रपति कार्यालय शीतल निवास पठाएपछि शपथ लिइने जनाइएको छ ।
शर्मामाथि आर्थिक वर्ष २०७९/०८० को बजेट पेस गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको आरोप लागेको थियो । सोही आरोप लागेपछि शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए ।
त्यसपछि उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो। छानबिन समितिले पनि शुक्रबार आफ्नो प्रतिवेदन बुझाइसकेको छ । जसमा कुनै प्रमाण नभेटिएको समितिले निष्कर्ष निकालेको छ ।