काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोले पु¥याएको क्षतिबारे जानकारी लिई राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले म्याग्दीको मालिका गाउँपालिका–२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा गएको पहिरोले पु¥याएको सडक अवरोध र चितवनकै इच्छाकामना गाउँपालिकामा गएको पहिरोबाट भएको क्षति, उद्धार र राहत तथा सडक खुलाउन भइरहेको प्रयासबारे जानकारी लिएका हुन् ।
उनले नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, म्याग्दीका प्रहरी प्रमुख तिलक भारतीलगायतलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिई आवश्यक व्यवस्थापनका लागि निर्देशन दिएका हुन् ।
उनले विपद् व्यवस्थापनमा समस्या परेमा मन्त्रालयमा खबर गर्नसमेत निर्देशन दिएका छन् । गएराति म्याग्दीको मालिका गाउँपालिका–२ मा माथिबाट झरेको पहिरोले घर पुर्दा सात जना बेपत्ता भएकामा दुई जनाको उद्धार गरिएको, ४ जनाको शव फेला परेको जनाइएको छ ।
मुग्लिङ–नारायणगढ सडकखण्डकै २० किलो र २१ किलो भन्ने स्थानमा पनि पहिरो गएको उनले बताए । अहिले नारायणगढतर्फबाट जुगेडीमा सवारीसाधन रोकिएको र पहिरोका कारण फसेकालाई सरकारी गाडीबाट चितवनसम्म लैजाने कार्य भइरहेको प्रजिअ तामाङले बताए ।