सप्तकोशी बाढी: उदयपुर जिल्लामा नदीले धार फेरेपछि जोखिममा मानवबस्ती, कस्तो छ अवस्था ?-Sutra News

सप्तकोशी बाढी: उदयपुर जिल्लामा नदीले धार फेरेपछि जोखिममा मानवबस्ती, कस्तो छ अवस्था ?

बुधबार, १८ साउन २०७९

बुधबार, १८ साउन २०७९

सप्तकोशी नदीले उदयपुर जिल्लामा आफ्नो धार परिवर्तन गरेपछि बाढी र डुबानबाट जोगाउन सयौँ मानिसलाई उद्धार गरिएको र त्यो क्रम अझै जारी रहेको अधिकारीहरूले बताएका छन्।



उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बेलका नगरपालिकाको डुम्रेनजिकै सप्तकोशी फुटेर मङ्गलवार राति नदीको प्रवाह परिवर्तन भएको थियो।

त्यसबाट मानवबस्तीमा पानी पस्न थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार कार्य अघि बढाएको उनले जानकारी दिए।

सुनसरी र सप्तरी जिल्लामा सप्तकोशी नदीमा तटबन्ध गरिएको भए पनि उदयपुरमा त्यस्तो संरचना छैन।

उद्धारकार्यमा डुङ्गासहित ३०० सुरक्षाकर्मी परिचालित भएका छन्। अहिलेसम्म कुनै क्षतिको विवरण नआएको अधिकारीहरूले बताएका छन्।

सिसौली टप्पु-चिलिया बस्ती हुँदै पसेको कोशीको भँगालोले वडा नं ८, ९, १, २ र ३ का बासिन्दा प्रभावित भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए।

बुधवार बिहान ११ बजेसम्म डुबान र कटानबाट प्रभावित करिब ९०० परिवारका मानिसको उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको जानकारी उनले दिए।

गाउँमा कोशी छिरेपछि कस्तो अवस्था ?

उक्त स्थानमा जोखिम पहिचान गरी नदीलाई फुट्न नदिने प्रयास एक महिनादेखि जारी राखिएको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए।

उनी भन्छन्, “पहिला बेलका नागरपालिका वडा नम्बर ८ लाहुरे खोँच भन्ने ठाउँबाट कोशी पश्चिम बग्ने गरेको थियो। २०४५ सालको भूकम्पपछि त्यो नदीको किनार पूर्व गएको हो।”

“आज बिहान पौने तीनदेखि चार बजेको बीचमा फुटेर कोशीको धेरै ठूलो भँगालो पहिला नदी बग्ने गरेको बाटोमै बगिरहेको छ। अब त्यो ठूलो बस्ती बसेको ठाउँमा नै पसिरहेको छ।”

उनले उक्त कटानबाट उदयपुरतर्फको बेलका नगरपालिकाका पाँचवटा वडा र सुनसरीको वराह नगरपालिकाकाका दुईवटा वडाका करिब २०,००० मानिस प्रभावित हुने अवस्था रहेको बताए।

बेलकाका नगरप्रमुख कार्कीले त्यस क्षेत्रमा झन्डै २,३०० परिवारको बसोबास रहेको र तीमध्ये करिब ४०० परिवार यसअघि नै सुरक्षित स्थानमा गएको बताए।

उदयपुरमा अहिले कोशी नदी २०४५ सालअघि बग्ने बाटोमै फर्किन लागेको छ

बाँकी रहेकाहरूलाई बुधवार बिहानैबाट स्थानीय प्रशासन र सुरक्षा निकायको सहयोगमा सुरक्षित स्थानमा लैजाने काम भइरहेको छ।

उनले भने, “अहिले वर्षा नभएको र घाम लागेकोले हामीले त्यहाँका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्न केही सहज महसुस गरेका छौँ। दिनभरिमा सबैलाई सुरक्षित स्थानमा सारिसक्छौँ होला।”

उनका अनुसार कोशी नदीको प्रवाह अब पश्चिमतर्फ फर्किने अवस्था आएकाले त्यहाँ मानिसहरूलाई राख्न सकिँदैन।

उनले भने, “अहिले हेर्दा अब नदीको बहाव त्रियुगा नदीहुँदै पहिला कोशी हिँडेको ठाउँबाट सप्तरीका तीनवटा पालिका हुँदै कोशी बाराज पुग्छ।”

यसअघि कोशी फुटेको विवरण आएपछि नेपाल-भारत सीमानजिकै अवस्थित कोशी बाराजमा थप ढोकाहरू खोल्न पहल गर्न उदयपुर जिल्ला प्रशासन कार्यालयले पहल अघि बढाएका थियो।

‘नदीले बहाव फेर्नु सामान्य’

जलस्रोत मामिलामा लामो समय कलम चलाएका पत्रकार राजेन्द्र दाहाल ठूला वा साना नदीले आफ्नो बहाव परिवर्तन गर्नु नौलो कुरा नभएको बताउँछन्।

दाहालले भने, “१२ वर्षमा खोलो फर्कन्छ भन्ने कहावत गाउँघरमा हिजोका पुस्तालाई पनि थाहा छ र आजका पुस्तालाई पनि थाहा छ। यताबाट उता जानु र उताबाट यता आउनु नदीको सामान्य स्वभाव हो।”

“आर्थिक, सामाजिक र राजनीतिक स्वार्थ गाँसिएका कारणले हामी मानिसलाई त्यस्तो घटनाबाट अप्ठेरो लाग्छ, ठूलो क्षति पुग्छ। तर नदीको प्रकृतिलाई हेर्दा यस्ता कुरा स्वाभाविक हुन्।”

दाहाल सप्तकोशीजस्ता नदीमा धार परिवर्तनजस्ता घटना देखा परेको अवस्थामा लाभ र नोक्सानीलाई विश्लेषण गरी नीतिहरू तय गरिनुपर्ने सुझाव दिन्छन्।

उनले भने, “धेरै ठूलो बस्ती बसिसकेको छ र धेरै ठूलो आर्थिक स्वार्थ जोडिएको छ भने कोशीलाई तटबन्ध बाँधेर हाम्रो हातमा भएको प्रविधिको साथ लिएर नियन्त्रणमा लिन सकिन्छ।”

“आजभन्दा सय-डेढ सय वर्षअघिका हाम्रा पुर्खालाई यस्तो अवसर थिएन। निश्चित ठाउँसम्म कोशीलाई छेकेर केही ठाउँहरूलाई सुरक्षित बनाउन सकिन्छ। तर त्यसले दिने प्रतिफल र लागतमा कुन बढी हुन्छ त्यो हेर्नुपर्‍यो।

उनले थपे, “अनि जोखिम र सुरक्षा पनि हेर्नुपर्छ। कहिले काहीँ तटबन्ध बाँध्दाबाँध्दा हामी यति धेरै बाँध्छौँ कि भोलि कथम् तटबन्ध फुट्यो भने त्यसबाट हुने क्षति अझ ठूलो हुन्छ।”

“अकल्पनीय जोखिम आउने परिस्थितिमा बरु नदीसँगै बाँच्नु कहिलेकाहीँ कम जोखिमपूर्ण हुन्छ।” बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट