सप्तकोसी नदी पश्चिमतर्फ धार परिवर्तन गरी मानवबस्तीमा पस्दा उदयपुरको बेलका नगरपालिकाका २० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। झन्डै साढे तीन दशकपछि सप्तकोसीले पुरानै धारमा फर्किएर बेलकाको मानवबस्ती तहसनहस पारेको हो। सप्तकोसीको बाढी बुधबार बिहान ४ बजे बेलका–१, २, ३, ८ र ९ वडामा पसेको थियो।
‘कोसीले केही दिनदेखि कटान गरिरहे पनि सरकारले बेलैमा सक्रियता नदेखाउँदा यस्तो अवस्था आयो,’ बेलका–३ का बासिन्दा अरीलाल उरावले भने। अहिले बाँध भत्काएर कोसी पसेको मानवबस्तीमा २०४५ सालअघि पनि कोसी नै बग्थ्यो। २०४५ सालको भूकम्पपछि बिस्तारै धार परिवर्तन गरी कोसी पूर्वतर्फ हानिएको थियो। नदीले छाडेको भागमा २०५१ सालदेखि घर बनाएर मानिस बस्न थालेका थिए। ‘यस्तो विपत्ति आउला भनेर सोचिएन,’ बेलका–३ का अर्का बासिन्दा किसन राईले भने, ‘२०४० सालअघि पनि अहिलेकै बस्तीमा कोसीले पीडा दिएको थियो। पछि कोसी पूर्वतिर हानिएपछि शान्त होला भन्ने सोचेका थियौं तर यसको भर हुँदो रहेनछ।’
घर बनाएर बसेयता वर्षयाममा बर्सेनि त्रास सिर्जना हुने गरे पनि कोसीले बस्तीमै पसेर तहसनहस गर्ला भन्ने नसोचेको बेलकाका बासिन्दाले बताए। दुई दिनअघिदेखि निरन्तर कटान गरेको स्थानमा स्थानीय स्तरबाट रोकथामको कामसमेत भइरहेको थियो।
तर बेलका–८, डुम्रीबोटेनजिकैबाट कटान गरेर बस्तीमा पसेको कोसीको भँगालोले त्यहाँका धेरैको जायजेथा नष्ट पारेको छ। ‘अन्नपात सबै नदीले बगायो, धन्न ज्यानचाहिँ बचाइयो,’ बेलका–३ की चन्द्रकला मगरले भनिन्, ‘एकपटक बाँध भत्काएर धार परिवर्तन गरेको सप्तकोसीले कुनै पनि बेला विनाशलीला मच्चाउन सक्दो रहेछ।’ कोसीमा पानीको बहाव असामान्य हुनेबित्तिकै खतरा हुने गरेकाले सुरक्षित रहन पूर्वतयारी गर्नैपर्ने हुन्छ।
पछिल्लो समय नदीले दुई दिनदेखि निरन्तर कटान गरेकाले स्थानीय त्रसित थिए। एक वर्षअघि संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाण नेतृत्वको टोलीले बुधबार सप्तकोसीले फुटाएको बाँधको स्थलगत निरीक्षण गरेको थियो। त्यतिबेला त्यसलाई गम्भीर चासोका रूपमा लिइएन। यसपालि सप्तकोसीले धार परिवर्तन गरेसँगै उदयपुरको बेलकाका पाँचवटा वडाका बासिन्दाले ठुलो विपत्तिको सामना गर्नुपर्यो। बेलकाबाहेक सप्तरीका दुई नगरपालिका सप्तकोसी र कञ्चनरूपमा पनि कोसीले असर पारेको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ का बासिन्दालाई पनि कोसीले पिरोलेको छ।
कटान नियन्त्रण गर्दागर्दै केही उपाय नलागेको बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले बताए। बाँध फुटाएर कोसीको बाढी बस्तीमा छिरेपछि डुम्रीबोटे र सिसौलीघाट आसपासमा डुबान र कटान सुरु भएको हो। ‘बाँध भत्काएर कोसी बस्तीमा छिरेपछि सिसौलीघाट टापु बनेको छ। म डुंगा चढेर यहाँ आएको हँु,’ उनले भने, ‘वडा नं. ८ को सबभन्दा बढी जोखिम सिसौलीघाटलाई भएको छ, यहाँ डेढ सय घरधुरीभन्दा बढी जोखिममा परेका छन्।’ वडा नं. ३ को भातेपुल क्षेत्र थप जोखिममा रहेको उनले बताए।
बेलका–८ का वडाध्यक्ष जयकुमार राईले डुम्रीबोट र सिसौलीघाटका बाढीपीडितलाई तत्काल सुरक्षित स्थानमा लगिएको बताए। जोखिममा परेका डेढ सय घरधुरीका झन्डै १ हजार ५ सय जनालाई विद्यालय र सार्वजनिक भवनहरूमा राखिएको उनले बताए। तत्काललाई डुबान र कटानबाट जनधनको क्षति हुन नदिने प्रयास भइरहेको बताउँदै उनले थप उपाय पछि खोजिने बताए। कोसीको बाढी पुरानो बाँध र गत वर्ष मात्र भारत सरकारले बनाएको २ सय मिटर लामो त्रिखुट्टी बाँध भत्काएर बस्तीतर्फ पसेको नगर प्रमुख कार्कीले बताए।
बेलका–३ वडाध्यक्ष टंकप्रसाद आचार्यले भातेपुल क्षेत्र र आसपासमा मात्र सातवटा टोल विकास संस्थामा आबद्ध बस्ती सबै डुबानमा परेको बताए। उनका अनुसार ती टोल विकास संस्थामा आबद्ध ९ सय घरधुरीका ३ हजार ७ सय जनसंख्यामध्ये ७० प्रतिशतलाई सुरक्षित स्थानमा सारिएको छ। उनीहरूलाई ट्याक्टर, ट्रक, बसमार्फत रातिसम्म ओसार्दै अग्लो र पानी नजम्ने ठाउँ रामपुर, सातपत्रेलगायत क्षेत्रका विद्यालय, सार्वजनिक भवन र खाली घरमा राखिएको उनले जानकारी दिए। कतिपयलाई रबर बोट पठाएर ओसारिएको वडाध्यक्ष आचार्यको भनाइ छ।
प्रमुख कार्कीले गएको जेठ असारदेखि नै सम्भावित बाढीको जोखिमबाट बच्न प्रयास गर्दागर्दै विपत्ले गाँजेरै छाडेको बताए। असार पहिलो साता मात्र बाढी बढेसँगै सम्भावित डुबान र कटानबाट बच्न प्रदेश र संघीय सरकारलाई गुहारेको तर बस्ती सुरक्षित गर्न योजना बनाउँदा बनाउँदै बाढीले बाँध भत्काएपछि समस्या गम्भीर बन्न पुगेको उनको भनाइ छ। अहिलेलाई मानवीय र सम्पत्ति क्षति गर्न नदिने भन्नेमै केन्द्रित भइरहेको प्रमुख र कार्कीले बताए। ‘अहिले हामी मानवीय क्षति र सम्पत्ति कसरी रक्षा गर्ने हो भन्नेमा केन्द्रित छौं,’ उनले भने, ‘ज्यान बचेपछि अरू समस्याबारे दीर्घकालीन योजना बनाएर अघि बढ्छौं।’
बाढी प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत सुरक्षा निकायका प्रमुखहरू पुगेर स्थलगत अनुगमन गरेको र विपद् व्यवस्थापन समितिको बैठक राखेर भावी योजना बनाउने बेलका नगर उपप्रमुख जिरा राईले बताइन्। ‘निरन्तर रोकथामको काम गर्दागर्दै कसैको केही लागेन,’ उनले भनिन्। उदयपुरको बेलकासँगै पश्चिम तटबन्ध फुट्दा भारतको कुनौलसम्म असर पुगेको उनले बताइन्। धारा बदलेर कोसी बेलकाको मानवबस्तीमा प्रवेश गरेर सुनसरीको वराहक्षेत्र–६ र ९ को श्रीलंका टापुमा पुगेका परिवारलाई सुरक्षित स्थानमा राखिने सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनका अनुसार बुधबार साँझ कोसी नदीमा २ लाख ४६ हजार १ सय ८० क्युसेक पानीको बहाव छ। कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये ४६ वटा ढोका खोलिएका छन्।
पूर्वी तटबन्ध प्रकाशपुरबाट कोसीको मुख्य भँगालोबाट करिब तीन किलोमिटर दुरीमा रहेको बस्ती श्रीलंका टापु नामले चिनिन्छ। बराहक्षेत्र नगरपालिकाका दुईवटा वडामा विभाजित सो टापु सप्तकोसीको पूर्वी र पश्चिमी भँगालोका बीचमा अवस्थित छ। हिउँदमा दुवैतिरका लामालामा बलौटे बगरका बीचमा रहेको बस्ती वर्षामा मात्र पानीले घेरिन्छ र टापुमा परिणत हुन्छ। पाँच दशकअघि कोसीका दुवै किनारामा तटबन्ध थिएनन्। कोसी पश्चिमबाट बग्थ्यो। त्यसबेला श्रीलंका टापु थिएन। अहिले कोसी पूर्वी र पश्चिम भँगालो भएर बग्न थालेपछि बिचमा टापु बन्न पुगेको हो।
सप्तकोसीको बाढीबाट हुने क्षति भारतको बिहारले समेत भोग्नुपर्छ। कोसीको बाढीले बर्सेनि बिहारमा धनजनको क्षति हुने गरेको छ। कोसी फुट्दा विस्थापित भएका परिवारका लागि अहिले तत्काल नेपाल रेडक्रसलगायत संस्थासँग आग्रह गरेर बसोबास र अल्पकालीन राहतको व्यवस्था मिलाएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले बताए। उनका अनुसार विस्थापितका लागि दिगो रूपमा बसोबास गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरिनेछ।
सप्तकोसीले चतरादेखि दक्षिण कोसी ब्यारेजसम्म करिब ४० किलोमिटर क्षेत्रमा बहाव नियन्त्रण गर्न तटबन्ध, स्पर र बाँध निर्माणसँगै मर्मतको काम हुँदै आएको थियो। सबैभन्दा बढी त्रास कोसीको पूर्वी तटबन्धतर्फ नै छ। केही वर्षअघि पूर्वी तटबन्ध भत्काउनबाट रोक्न बराहक्षेत्रको प्रकाशपुर पश्चिमतर्फ भारतले कोसीको मुख्य भँगालोलाई ठुलो नहरजस्तै ‘पाइलट च्यानल’ बनाएर पूर्वबाट पश्चिमतर्फ धकेल्दै मध्यधारमा पुर्याउने काम गरेको थियो।
२०२२ सालयता सप्तकोसी नदीले बराहक्षेत्र नगरपालिकाअन्तर्गत १ लाख ६० हजार कट्ठाभन्दा बढी खेतीयोग्य उर्वर भूमि कोसीले कटान गरेको तथ्यांक २०६४ सालमा गठित पूर्वप्रशासक रामप्रसाद खतिवडाको संयोजकत्वको उच्चस्तरीय समितिले प्रस्तुत गरेको थियो। २०६५ भदौ २ गते सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएर कोसी गाउँपालिकाअन्तर्गतको हरिपुर, श्रीपुर, पश्चिमकुशाहा र लौकहीको मानवबस्तीमा पसेको थियो। त्यतिबेला ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए। कोसीले त्यतिबेला पूर्वी तटबन्ध भत्काउँदा लौकही भान्टाबारी क्षेत्रको करिब १४ किलोमिटर खण्डका ठाउँठाउँमा भत्काएको थियो।
त्यतिबेला पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेपछि यात्रुहरूले डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपरेको थियो। डुंगामा यात्रा गर्दा थुप्रैले ज्यानसमेत गुमाएका थिए। चतरा रामपुर क्षेत्रको सडकलाई जोड्ने प्रयासस्वरूप ८ करोड खर्चेर फेरी पनि सञ्चालनमा ल्याइएको थियो। चतरामा २०७२ सालमा पक्की पुल बनेसँगै त्यस क्षेत्रको जनजीवन सहज बनेको छ। यसरी हरेक बर्खाको समयमा पूर्वी तटबन्ध क्षेत्रका बासिन्दा त्राहिमाम हुने गरेकोमा बुधबार भने सप्तकोसीले बेलकातर्फ धार परिवर्तन गरेकाले कुनै पनि बेला कुनै पनि स्थानमा भत्काएर विनाशलीला मच्चाउन सक्ने खतरा छ।
गृहमन्त्री खाणद्वारा निर्देशन
बाँध भत्काएर सप्तकोसी मानवबस्तीमा प्रवेश गरेकोमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले चिन्ता व्यक्त गरेका छन्। उनले नदी तटीय क्षेत्रका बासिन्दालाई जोखिमपूर्ण स्थान छाडेर जति सक्दो सुरक्षित स्थानमा जान आह्वान गरेका छन्। नदी मानव बस्तीमा पस्दा हुन सक्ने क्षतिप्रति सचेत रहन र राहत एवं उद्धार कार्यमा जुट्न स्थानीय प्रशासन, स्थानीय सरकार र जनप्रतिनिधि, सुरक्षाकर्मी, रेडक्रसलगायत निकाय सबैलाई उनले निर्देशन दिएका छन्।
त्यस्तै गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलकाका पाँचवटा वडाका बासिन्दालाई तत्काल स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्। गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, लगायतलाई टेलिफोन गरी तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न निर्देशन दिएका हुन्। नागरिक दैनिक