पुरुषोत्तम पोखरेल । बिज्ञान प्रबिधिको कारण देशको समृद्धि र मानव सफलताको पछाडी ईन्टरनेटको चमत्कारी योगदानलाई बिर्सन मिल्दैन । हाम्रो गाउँ टोल देखि विश्वभरी नेटवर्क मार्फत जन जनलाई जोड्ने लोकप्रिय माध्यम ईन्टरनेट बनेको छ । ब्यक्ति मोबाइल र ईन्टरनेट एक अर्काको पुरक बनेर बिकास र अबसरका संभावनाका ढोकाहरु खुला भएका छन् ।
प्रत्येक ब्यक्तिको गोजीमा रहेको स्मार्ट फोनहरु अन्तराष्ट्रीय संजाल संग गाँसिदा एक क्लिकको भरमा घर घरमा सामान आइपुग्ने , खोजेको सेवा सुबिधा तथा सम्पूर्ण जानकारी पलभरमा प्राप्त गर्न सक्ने उच्च प्रबिधिले मानिसको जीवनलाई अत्यन्तै सहज तुल्याइ दिएको छ । यस्तो उच्च प्रबिधिको कारण विश्वका ४ अरब १५ करोड मानिसहरुको जीवन ईन्टरनेट संग यसरी गाँसिएको छ, जसरी कपास संग लुगा र लुगा संग कपासको सम्बन्ध ।
नेपालकै सन्दर्भमा पनि मोबाइलबाट १ करोड ७५ लाख ब्यक्ति ईन्टरनेटबाट लाभान्वित भईरहेको हुनाले ईन्टरनेट मानव जीवनको अभिन्न अंग बनिसकेको कुरालाई सहजै बुझ्न सकिन्छ । यदि एक घण्टा ईन्टरनेट बन्द हुने हो भने सारा कामकाज मात्र ठप्प हुने होईन, जीवन नै आकुलव्याकुल भएर पानी बिनाको माछा झैं छ्टपटिन थाल्छौं ।
ईन्टरनेटको आरम्भ : त्यसो त ईन्टरनेटको आबिष्कारको पछाडि रुस अमेरिकाको रक्षा प्रतिरक्षाका बिषय संग जोडिन पुग्दछ । तत्कालीन सोभियत संघका राष्ट्रपति दिमित्रीको पालामा स्पुतनिक-१ नामक उपग्रह ४ अक्टुबर १९५७ मा अन्तरिक्षमा सफल परिक्षण एउटा ठूलो उपलब्धि थियो । एक बर्ष पहिले सन् १९५६ देखि नै आफ्नो शुरक्षाको खातिर एन्टी सेटलाइट ओपेन कार्यक्रम चलाएको देखिन्छ । स्पुतनिकलाई नयाँ खोज इन्जिनको रुपमा पनि बुझ्ने गरिन्छ । यसैको प्रति उत्तरमा अमेरिकाले पनि अन्तरिक्षमा दुई पटक उपग्रह पठाउने कोसिस गर्यो तर असफल रह्यो । त्यसपछि अमेरिकाको रक्षा बिभागले आफ्नो सुरक्षालाई भरपर्दो बनाउन निरन्तरको अन्वेषणको प्रयास स्वरुप सर्वप्रथम अमेरिकाको रक्षा बिभागले २९ अक्टोबर १९६९ मा ईन्टरनेट बनाउन सफल भएको थियो ।
रक्षा बिभाग द्वारा UCLA तथा स्टैन फोर्ड अनुषन्धान संस्थानले कम्प्युटर्सको नेटवर्किं गरेर ईन्टरनेट तैयार पारेको थियो । जसलाई ARPANET नामाकरण गरि पहिलो पटक TCP/ IP प्रोटोकल प्रयोग गरि ईन्टरनेटको सुरुबात गरेका थिए । यसरी नेटवर्क कन्ट्रोल प्रोग्राम १९७० मा लागू भयो र १९७१ मा नेटवर्क ,सफ्टवेयर रिमोट लाँगइन फाइल ट्रान्सफर इमेल जस्ता कामहरुको प्रगति भएको पाउँछौं । एप्पल कम्पनीले सन १९८४ मा फाइल फोल्डर र ग्राफिक्सको प्रयोग हुन थालेपछि ईन्टरनेट चलाउन धेरै सहज बनायो ।
१९८९ मा बृटिश कम्प्युटर बैज्ञानिक टिम बर्नर्स लीले ईन्टरनेटलाई सरल बनाउन ब्राउजर उपयोग गरेर World Wide Web बन्यो अनि गुगलले १९ अगस्त २००४ देखि सार्बजनिक रुपमा सेवा प्रदानले विश्वभरि ईन्टरनेटमा एउटा दिगोपना,सहजीकरण र बिकासको संक्षिप्त इतिहास पाईन्छ । नेपालको सन्दर्भमा पनि ईन्टरनेट सर्वप्रथम सन् १९९३ मा शाही नेपाल तथा बिज्ञान प्रतिष्ठानले र त्यसै ताका मरर्केन्टाइल कम्पनीले प्रयोग गरेको पाइन्छ । सन् १९९५ मा World link ले त्यसपछि Subisu ले व्यावसायिक हिसाबले सेवा सुचारु गरेको भेटिन्छ ।
ईन्टरनेटको महत्व : बर्तमान परिवेशमा हरेक ब्यक्ति हरेक क्षेत्रमा समस्या निबारणको लागि ईन्टरनेटको सहारामा समाधान खोजी रहेका हुन्छन् । आजको डिजिटल युगमा घर बसेर विश्व घटना र ताजा समाचार हेर्न, शिक्षा आर्जन गर्न, स्वास्थ्यो उपचार पद्धति खोज्न, आधुनिक कृषि उद्योग ब्यबसाय गर्न ,प्रेस तथा डिजाइन तैयार पार्न सरकारी प्रशासनिक कामकाज गर्न , बैंकिक कारोबार गर्न ,खानाको परिकार जान्न ,मौसमको जानकारी पाउन, स्थान पता लगाउन, बिजुली खानेपानी टेलीफोन इन्टरनेटको बिल भुक्तानी गर्न, घर बसेर आन लाइन काम गर्न ,यातायात होटेल रेस्टुरेन्ट पार्टी हल बुक गर्न, आँन लाइनगट सपिंग र गेम खेल्न, संगीत सुन्न,आफन्त संग च्याटिंग र भिडियो कल मार्फत कुरा गर्न तथा यस ब्रह्माण्डका जुनसुकै बिषय र बस्तुहरुको बिस्तृत जानकारी, सेवा सुबिधाहरु सहजै प्राप्त गर्न सकिने प्रबिधिले ब्यक्त्तिलाई सुबिधाको साथै पैसा र समयको समेत ठुलो बचत गराएको हुनाले ईन्टरनेट मानिसको लागि बरदान साबित भएको छ ।
सोसल मिडियाको भूमिका : डिजिटल प्रबिधिको उच्च सफलता संगै सोसल मिडिया नेटवर्कहरुमा ब्यक्त्तिको रुचि ह्वात्तै बढेको पाउँछौं । सामाजिक संजालमा आवश्यकतानुसार आ आफ्नो साथीहरु बनाउने,फोटो पोस्ट गर्ने,ताजा समाचार,घटना बिचार राख्ने र अरुको बिचार सुन्ने,प्रातिकृया जनाउने, सेयर गर्ने, सम्मान गर्ने करोडौं प्रयोगकर्ताहरुको सोसल मिडिया साझा प्लेटफर्मको रुपमा देखा परेको छ । सोसल मिडियाहरुमा चर्चामा रहेको युटूब, फेसबुक, टिकटाँक, इन्स्टाग्राम ट्युटर ,वाट्सएप,अनि खेल्ने गेममा पब्जी ,फ्री फायर आदिमा विश्वका करोडौं युवा युबतीहरु लिखा टाँसिए झैं टाँसिएर आनन्द उठाइ रहेका हुन्छन् । यसरी सामाजिक संजालहरुको प्रयोग बाट ब्यक्तिले आ आफ्नो बुद्धि विवेकको उपयोग गरेर ज्ञान,सीप प्रतिभा तथा मनोरंजनको आदान प्रदानबाट लाभान्वित हुँदै आएको हुनाले जनमानसमा सोसल मिडियाहरु प्रति रुचि अत्यधिक बढ्दो छ ।
मानिसमा यान्त्रिकरणको प्रभाव : आजका नयाँ पुस्ताहरु प्राय: खान पिउन,पढ्न लेख्न, काम गर्न र सुत्न छाडेर जतिबेला पनि, जहाँ पनि हातमा मोबाइल चलाइ रहेको देख्दछौं । हरेक ब्यक्ति आफ्नो काममा च्याटिंगमा भिडियो कलमा म्युजिकमा यति ब्यस्त देखिन्छन् कि एकले अर्का प्रति औपचारिकता पूरा गर्न छाडेर आफैमा मस्त रहने गर्दछ्न । कसैलाई पाँच मिनेट कुर्न नसकेर मोबाइल झिकेर चलाइ रहेका हुन्छन् । खाना पकाउँदा, खाँदा र बाथरुम जाँदा समेत ईन्टरनेट चलाउने कस्तो आशक्त्ती होला ? पाँच मिनेट शान्त एबं धैर्यतापूर्बक बस्न नदिने कस्तो रोग हो ?बिलाशी बस्तु प्रतिको आकर्षण र तिब्र चाहना ब्यक्तिको पहिलो रोजाइ र प्यारो बस्तु हुँदै गएका छन् ।
यसो झ्वाट्ट हेर्दा मानिस यान्त्रिक बन्दै गएको पाईन्छ । बिहान देखि बेलुका सम्म मानिस यन्त्र संगै खेलिरहेका हुन्छन अनि त्यसैको सहारामा जीवन धानी रहेको हुँदा सोही अनुरुप मानिसको स्वभाव पनि निर्जीव यन्त्र झैं ढालिदै गएको प्रतित हुन्छ । ब्यक्त्ति र समाजको बिकास यन्त्रहरुबाट हुन थालेपछि त्यसको अप्रत्यक्ष प्रभाव मानिसको जीवन र व्यबहारमा प्रष्टै झल्किन थालेको छ ।
अमेरिकी बैज्ञानिक Elon Mask को अनुषन्धानमा मानिस बाँदर र सुंगुरहरुले अब चिप्स र डिभाइसको निर्देशनमा काम गर्ने भएका छन् । सुन्दा अचम्म लाग्न सक्छ तर सत्य हो । उनको सामाजिक संजाल क्लब हाउस बाट एक से एक अदभूत आबिष्कार देख्दा भोलिका मानिस चिप्स र रिमोटबाट चलेको आफ्नै पालामा देख्न पाउँने छौं । यस्तो परिबर्तित अबस्थामा मनुष्यमा मनुषत्वको ह्रास आउन थालेको छ । आफ्नो घरपरिवार समाज र प्रकृति अनुकूल रम्न नखोज्नु यान्त्रिकरणको दुष्प्रभाव हो । हिजोको जस्तो साझा परिवार रहेनन् । घरका अधिकांश सदस्यहरु काम र मामको खोजीमा बाहिरिनु पर्ने साथै मेशिन कै रफ्तारमा काम गर्दा ब्यक्ति भित्रको परिवारिक स्नेह बात्सल्यता माया प्रेम सद्भाव र अपनत्वबाट टाढिन पुग्दछन । जसको कारण मानवीय संवेदनशीलता एबं भावनाहरु एकांकी भएर पानी बिनाको बिरुवा झैं हुदैं गएका छ्न ।
नकारात्मक पक्षहरू : हुन त हरेक बस्तुका असल खराब, अँध्यारो उज्यालो तथा सकारात्मक नकारात्मक पक्षहरु स्वकभाभिक रुपमा रहन्छन नै । तथापि कुनैपनि बिषय बस्तुको प्रयोग के कति मात्रामा गर्दछौं या कुन उदेश्यले गर्दछौं, त्यसमा निर्भर गर्ने बिषय हुन । बिना प्रयोजन अनावश्यक दिनरात मोबाइलमै झुण्डि रहने या खेलिरहनेहरु का लागि ईन्टरनेट रक्सी चुरोटको तलतल जस्तै मानिन्छ । चाहे त्यो फेसबुक होस् या टिकटाँक ,सिरियल फिल्म, म्युजिक होस या खेल्ने गेम । सिमा भन्दा बढी प्रयोगले गलत दिशा तिर डोर्याउने प्रायः निश्चित छ ।
ईन्टरनेटको अत्यधिक प्रयोगले ब्यक्तिको आफ्नो बुद्धि बिबेक प्रति विश्वसनियता कम हुने, बेकम्मा अल्छी र दास बनाइ रहेको हुन्छ । त्यस्तै पब्जी र फ्री फायर जस्ता गेमहरुको लत लागेका केटाकेटीहरुमा निन्द्रा नलाग्ने ,मोटोहुने, तनाव बढने, ससानो कुरामा झर्को फर्को गर्ने ,पैसा चोर्ने ,बात बातमा हिंसक स्वभाव देखाउने आदि घटनाहरु हाम्रा आँखा अगाडि घटी रहेका छ्न । भर्खरै हेटौंडाको कमलडाँडामा र रुपन्देहीको तिलोत्तमामा प्रहरीले छापा मारेर उनिहरुको ठगी धन्दा तथा अश्लील हर्कत मार्फत पैसा असुल्ने कार्यको पर्दाफास गरेको घटना बिर्सेका छैनौं ।
धेरैजसो फिलिपिन्स र ब्राजिलका मानिस प्रतिदिन १०/१२ घण्टा ईन्टरनेट प्रयोग गर्दछन । चीन भारत अमेरिका मेक्सिको लगायत देशहरूमा पनि ईन्टरनेटको महत्त्व संगै प्रयोगकर्ता करोडौंमा बढेको हुनाले पर्यावरणमा असर पुर्याएको छ । स्मरणयोग्य कुरा के छ भने गुगलमा दुई पटक सर्च गर्दा १५ ग्राम कार्बन डाइ अक्साइड उत्सर्ग गर्दछ । जबकि विश्वमा हरेक दिन ३.५ अरब पटक गुगल सर्च हुन्छ । कार्बनको साथै विद्युतको नोक्सानी पनि ग्लोबल वार्मिंगको चिन्तालाई बढाएको छ ।
केही प्रयोगकर्ताहरु आवश्यकता भन्दा बढी साथीहरू बनाउने,बिना प्रयोजन र बिना जानकारीको प्रयोगले निजी जीवनको अत्यावश्यक पासवर्ड, कागजात, बैंक कार्ड आदिको चोरी ,ठगी, ह्याकिंग हुने ,भाइरस पठाउने, अश्लील कार्यमा संलग्न हुनसक्ने आदि कारणले साइबर क्राइमको फन्दामा पर्न सकिने संम्भावनालाई पनि नकार्न सकिन्न । अधिकांश स्कुल र कालेजमा अध्ययनरत कतिपय युवा युबतीहरु राती ढिलो सम्म पोनोग्राफ या अश्लील साइट हेर्ने ,गेम खेल्नेमा ब्यस्त रहँदा उनिहरुको बौद्धिक स्तर खस्केर कुबाटो तिर लम्कन सक्छन ।
ससाना बाल बालिकाहरुलाई फकाउन मोबाईलमा भिडियो देखाउने, म्युजिक सुनाएर खेल्न दिने बानीले उनिहरुको मन र मस्तिष्कमा जैविक मनोबैज्ञानिक एबं सामाजिक असरले नराम्रो प्रभाव पार्दछ । यसका अतिरिक्त निन्द्रा नलाग्ने, खान रुचि नहुने, आँखा ढाडको समस्या निम्त्याउने गर्दछ । यसै किसिमले बजार र बसको भीड भाडमा मोबाइल चलाउने ,घरमा ईष्ट्मित्र आउँदा शिष्टाचार प्रकट नगर्ने, अध्ययनको नाउँमा केटा या केटीहरुलाई पछ्याउने, कोठा बन्द गरेर नेट चलाउने, घरको जरुरी कामको नाउँमा सिन्को नभाँच्ने, ससानो कुरामा अभिभावकहरु संग नकारात्मक व्यबहार देखाउने, बेलुका आफ्नो घर परिवारसंग एकसाथ बसेर दु:ख सुखको कुरा एबं सरसल्लाह गर्नुको साटो घरका सदस्यहरु छुट्टा छुट्टै बसेर मोबाइलमा आआफ्नो साईटमा मध्य रात सम्म रमाउन खोज्ने प्रबृत्तिलाई कदापि राम्रो मान्न सकिन्न । यो एउटा पागलपन हो । घर परिवारमा देखिने यस्ता बिकृतिहरु मनोरोगको द्योतक मानिन्छन । आधुनिकताको नाउँमा पश्चिमी संस्कृतिको दुष्प्रभावले आफुमात्र नभई घर परिवार टुक्रयाउने, तनाव शृजना गर्ने देखि समाज समेतलाई दुषित बनाउँन पुग्दछ ।
अहिले भर्खरै अष्ट्रेलियाको एक सर्वेक्षणमा पनि ४०% भन्दा बढी ब्यक्तिहरु प्रबिधिको दुरुपयोग भएकोमा ठूलो चिन्ता ब्यक्त्त गरेका छन । यो स्थिति अष्ट्रेलियामा मात्र नभई विश्वको धेरै देशहरुमा प्रबिधिको दुरुपयोग एउटा चुनौतीको रुपमा हाम्रा समक्ष उभिएका छ्न ।
सारांश : विश्वको जनसंख्याको ठूलो हिस्सा ईन्टरनेटको कारण लाभान्वित हुँदै आएका छन् भने केही हिस्सा प्रबिधिको दुरुपयोगको कारण समाजमा ढुक्क साथ बस्ने स्थिति भने छैन । अहिले अश्लिल एवं उछृङ्खल सामग्रीहरुमा राम्रो आम्दानी देखिएको हुनाले यस्ता सामग्रीहरुले बजार भरिभराउको कारण समाजमा बिष फैलाएर कलुषित बनाइ रहेका छन् । परिणामस्वरुप आज छोराछोरीहरुमा पश्चिमी संस्कृतिको छापले गर्दा घर परिवारमा भन्दा बाहिरी दुनियाँमा भिज्न खोज्छन् । स्वदेशमा भन्दा बिदेशमा पढन खोज्छन् । प्रकृति संग रम्नु भन्दा यान्त्रिक बस्तु संग खेल्न मन पराउँछ्न, अनुशासन र मर्यादा भित्र बाँधिनु भन्दा स्वतन्त्रतापूर्बक बाँच्न चाह्ने ईच्छा आकांक्षा हाम्रा मूल्य मान्यता र संस्कार बिरुद्ध उभिन खोज्नु ईन्टरनेटको अत्यधिक र गलत प्रयोग नै हुन ।
हेक्का रहोस् ! ईन्टरनेटको उपयोग बौद्धिक बिकास, राष्ट्र निर्माण तथा समाज सुधारको दिशामा अभिप्रेरित हुनु पर्दछ । मनोरंजनको नाउँमा समाजमा अश्लीलता पस्कने या केवल समयको नोक्सानी मात्र ब्यहोर्नु नपरोस् ।