काठमाडौँ । आगामी मङ्सिर ४ गते संसदीय चुनाव हुने भएको छ । अहिले जारी रहेको भएको सत्ता गठबन्धन संसदीय चुनावमा पनि तालमेल गरेर अगाडी बढ्ने तयारीमा छ ।
अब आइतबार देखि दल दर्ताका कामहरु अगाडी बढ्नेछन् ।
स्थानीय चुनावमा तालमेल गरेर टन्नै सिट जितेको माओवादी संसदीय चुनावमा पनि गठबन्धन गर्न हौसिएको छ । गठबन्धन गरेर जाँदा पार्टीलाई सत्तामा पुग्न धेरै नै फाइदा हुने माओवादीको विश्लेषण छ । तर काँग्रेसभित्रका केही नेताहरुले गठबन्धन नगरिकन जानुपर्ने बताउंदै आएका छन् । तर गठबन्धन नहुने सम्भावना छैन ।
काँग्रेसका नेताहरुले गठबन्धनबाट माओवादीलाई फाइदा नै फाइदा भएको बताउँछन् ।
नेपाली काँग्रेसबाट गृहमन्त्री बनेका बालकृष्ण खाँणले एक्लाएक्लै चुनावमा गए माओवादीले जम्मा ८ सिट जित्ने रिपोर्ट दिइसकेका छन् । त्यस्तै माधवकुमार नेपाल नेतृत्वको पार्टीले एक सिट जित्ने तथ्यांक पेश भएको छ ।
त्यस्तै गृहमन्त्री खाणले सवै दल एक्ला एक्लै जाँदा कांग्रेसले ८० सिटको हाराहारीमा जित्ने र नेकपा एमालेले ५७ सिट ल्याउने दावी गरेका छन् ।
चुनावमा गठबन्धन नगरे आफूहरु कमजोर हुने माओवादीकै नेताहरुको भनाई छ ।
त्यस्तै प्रचण्डलाई चाँही आफ्नो पार्टीको पहिचान नै संकटमा आउने गम्भीर चिन्ता छ ।
‘हाम्रो पार्टीलाई पनि क्रमशः पहिचानको संकट आउन थालेको छ । हुनत हामीले हाम्रा दस्तावेजमा, व्याख्या विश्लेषण गर्दा हामी क्रान्तिकारी हौं भन्छौं, तर अरू संसदवादी पार्टी र माओवादीबीचको पहिचान क्रमशः मेटिएको हो कि ? उनले एउटा कार्यक्रममा बोल्दै नेताकार्यकर्ताहरु बीच प्रश्न समेत गरेका थिए ।
गत २०७४ को संघीय तथा प्रदेश सभा निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन भएको थियो । त्यतिबेला एमालेले ८० र माओवादीले ३६ सिट मात्र हात पारेको थियो ।
गठबन्धन गर्दा माओवादीलाई एकदमै धेरै लाभ भएको त्यतिबेलाको विश्लेषण थियो । तर अहिलेको परिस्थिति फेरिएको छ । त्यतिबेला स्वतन्त्र उम्मेदवार थिएनन् । अहिले स्वतन्त्र उम्मेदवारको लहर बढ्दो रहेको छ ।
अहिलेको चुनावी नतिजा व्यक्तिको सामाजीक र राजनीतिक प्रतिष्ठामा पनि निर्भर हुने कुरा हो । समग्र पार्टीको छविले भन्दा कुनै पनि व्यक्तिको सम्बन्धीत क्षेत्रमा रहेको क्रेजले चुनाव जित्ने या हार्ने भन्ने विषयमा बढी म्याटर राख्छ ।
माओवादीले गठबन्धन नगरिकन एक्लै चुनावमा गए हालत खराब हुने काँग्रेसकै कतिपय नेताहरुको भनाई छ ।
स्थानीय चुनावमा पनि गठबन्धन गरेर चुनाव लडेको माओवादीको क्रेज पहिलाको भन्दा घटेको प्रष्ट देखिएको छ । एमाले र काँग्रेसपछि तेस्रोमा आएको माओवादी केन्द्रको पनि जनप्रतिनिधि संख्या अघिल्लो निर्वाचनमा भन्दा घटेको छ। कुनैबेला ५ हजार ४४० जनप्रतिनिधि निर्वाचित गरेको माओवादीले अहिले जम्मा ५ हजार जनप्रतिनिधिलाई सत्तामा पुर्याउन सफल भयो । संघीय चुनावलाई स्थानीय चुनावको नतिजाले ठुलो असर पार्ने गर्छ ।
माओवादीको क्रेज स्थानीय चुनावमा घटेका कारण यो चुनावमा पनि घट्ने आंकलन छ । त्यसमा पनि गठबन्धन नगरी चुनावमा जाने हो भने माओवादीले २०७४ मा भन्दा धेरै सिटहरु गुमाउने देखिन्छ ।
रुकुममा जनार्दन शर्मा, रोल्पामा वर्षमान पुन, दाङमा कृष्णबहादुर महरा त्यस्तै भक्तपुरमा पम्फा भुसालको क्रेज छ ।
प्रचण्डको कुरा गर्ने हो भने गठबन्धन बिना चुनावमा होमिंदा उनी खतरा क्षेत्रमा रहेका छन् । दुईपटक सम्म देशको प्रधानमन्त्री खाइसकेका प्रचण्डलाई काँग्रेसले साथ नदिने हो भने या एक्लै चुनावमा जाने हो भने उनी हार्ने पक्का छ । यसको थप पुष्टि गएको स्थानीय चुनावले गर्छ ।
माओवादीका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले गएको चुनावमा एमालेसँग तालमेल गर्दै राप्रपाका नेता बिक्रम पाण्डेलाई हराएका थिए । प्रचण्डले ४८ हजार २७६ मत पाएका थिए भने पाण्डेले ३८ हजार ९३५ मत पाएका थिए ।
वैशाख ३० गते सम्पन्न भएको स्थानीय चुनावमा गठबन्धनको वैशाखी टेकेर उनकी छोरी भरतपुरको मेयरमा निर्वाचित भएकी थिइन् । प्रचण्डको निर्वाचन क्षेत्रका झन्डै १० वटा बढी वडामा काँग्रेसको एकलौटी जस्तै रहेको छ ।
बाँकीको केही हिस्सा एमाले, नेकपा एस र स्वतन्त्र उम्मेदवारको क्रेज थियो । दुईपटक प्रधानमन्त्री भएका व्यक्ति प्रचण्डको सिट चितवनमा नै सुरक्षित छैन । काँग्रेससँग गठबन्धन नगरी चुनावमा माओवादी गयो भने प्रचण्डलाई पनि झन् गाह्रो छ । उनी संसद चुनावमा साइड लाग्ने पक्काजस्तै छ ।
कहिले एमालेसँग त कहिले काँग्रेससँग गठबन्धन गरेको माओवादीले खासै प्रतिपक्षमा बस्नुपरेको छैन । एमालेसँग तालमेल गर्दा पनि माओवादी सत्तामा नै छ त्यस्तै अहिले काँग्रेससँग तालमेल गर्दा पनि माओवादीले प्रतिपक्ष बन्नुपरेको छैन ।
गठबन्धनको सहारामा चुनाव जित्दै र सिंहदरबार छिर्दै आएको माओवादी गठबन्धन भंग गरेर चुनावमा जाने हो भने कमब्याक हुने सम्भावना अलिकति मात्र छ । यद्दापी माओवादी नेताहरु यो स्वीकार्न तयार छैनन् । आजकल प्रचण्डको हरेक भाषणमा ‘गठबन्धन’ भन्ने शब्द लगभग छुटेको छैन ।
गएको चुनावमा रुकुममा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको समानुपातिकतर्फ प्रतिस्पर्धामा दोश्रो भएको नेपाली कांग्रेस भन्दा नेकपा माओवादी केन्द्रले दोब्बर मत पाएको छ । समानुपातिक तर्फको अन्तिम मत परिणाम अनुसार प्रतिनिधि सभामा ४४ दलले मत पाएको थियो ।
माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले कांग्रेस उम्मेदवार दिलबहादुर घर्तीलाई ८ हजार ४ सय १ मतान्तरले हराएका थिए ।
यता कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रकी उम्मेदवार बिना मगर निर्वाचित भएकी थिइन् । उनले ३८ हजार ४ सय ६७ मत पाएकी छन् । प्रतिस्पर्धी कांग्रेस उम्मेदवार दिवानसिंह विष्टले जम्मा १९ हजार २ सय १९ मत पाएका थिए ।