प्रधानमन्त्रीको कुर्चीका लागि दौडमा रहेका यी नेताहरु-Sutra News

प्रधानमन्त्रीको कुर्चीका लागि दौडमा रहेका यी नेताहरु

आइतबार, २२ साउन २०७९

आइतबार, २२ साउन २०७९

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते एकैपटक गर्ने सरकारले निर्णय गरिसकेको छ । चुनावको मिति घोषणा भएलगत्तै विभिन्न राजनीतिक दलहरु आआफ्नो तयारीमा लाग्न थालेका छन् । आफूले चुनाव लड्ने स्थानमा उम्मेदवारी घोषणाको कार्यक्रम राख्न थालेका छन् ।



स्थानीय तहको चुनाव जस्तै अहिलेको चुनावमा पनि सत्ता गठबन्धन दलहरु तालमेल गरेर अगाडी बढ्ने तयारीमा छ । नेकपा एमाले भने अझै पनि एक्लै लड्न तयार छौं भन्दै तयारीमा छ । यसैबीच केही शिर्ष नेताहरुले आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने चाहना व्यक्त गर्न थालेका छन् । प्रधानमन्त्रीको आकांक्षीका रूपमा नेपाली कांग्रेसका नेताहरु बढी रहेको देखिन्छ ।

हालका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको पनि फेरि एकपटक प्रधानमन्त्री बन्ने इच्छा रहेको देखिन्छ । शनिवार कांग्रेसकै प्रकाशमान श्रेष्ठले पनि आफूलाई प्रधानमन्त्री बन्न मन लागेको बताए । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफूले अहिलेसम्म राम्रो काम गर्दै आएको र अब जनताहरुले साथ दिए प्रधानमन्त्रीको कुर्सीमा बस्ने इच्छा व्यक्त गरेका थिए ।

कांग्रेसको महाधिवेशनमा देउवासँग टक्कर दिने मनसायका कारण उनले देउवा क्याम्प छाडेर चुनावमा होमिएका थिए । तर कुल खसेको मतदान मध्ये उनले १० प्रतिशत पनि मत कटाउन सकेका थिएनन् । सभापतिको लागि १० प्रतिशत पनि मत ल्याउन नसक्ने प्रकाशमानले अहिले प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरिरहेका छन् ।

शनिवार उनले असल नियत भएको र लोभ नभएको नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्नेकुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने समेत बताए । प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना उनले मात्र प्रकट गरेका छैनन्, अन्य नेताहरु पनि छन् ।

प्रधानमन्त्रीको आकांक्षीका रूपमा कांग्रेसका महामन्त्री गगनकुमार थापा पनि देखिन्छन् । उनले आफ्नो पार्टीका पहिलो तहका नेताले आगामी निर्वाचनमा बिदा लिएर सरकार र पार्टीको नेतृत्व अर्को पुस्तालाई छोडिदिनुपर्ने बताउदै आइरहेका छन् । कांग्रेसमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला लगायतका नेताहरु पनि आफूहरुलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने पक्षमा रहेको बताइन्छ ।

यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्ड ले पनि फेरि एकपटक प्रधानमन्त्री बन्ने इच्छा रहेको बताइसकेका छन् । प्रचण्डले एकपटक प्रधानमन्त्री बनेर सम्झन लायक काम गरेर देखाउने बताइरहेका छन् । त्यति मात्र होइन नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि चुनाव आइसकेकोले अहिले नै राजनीति नछोड्ने बताइसकेका छन् । ७० वर्षमा राजनीति नै छाडौँ भन्ने लागे पनि परिस्थितिले छाड्न नदिएको उनको भनाई छ । यो हेर्दा उनी पनि प्रधानमन्त्री बन्ने लाइनमा रहेको देखिन्छ ।

अब मधेशका नेताहरुको कुरा गरौं । लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि प्रधानमन्त्री बन्ने इच्छा राख्दै आइरहेका छन् । त्यति मात्र होइन प्रधानमन्त्रीको चाहाना राख्नेमा हालै नयाँ पार्टी खोलेका रवि लामिछाने पनि छन् । नेपालमा प्रधानमन्त्री चाडै फेरिने अवस्थाका कारण पनि प्रधानमन्त्रीको इच्छा व्यक्त गर्ने नेताहरु बढेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट