काठमाडौं – नेपाली चलचित्र क्षेत्रका कलाकारहरु पछिल्लो समय राजनीतिक क्षेत्रमा बढी रुची राख्न थालेको देखिएको छ । धेरै कलाकारहरु विभिन्न राजनीतिक दलमा प्रबेश पनि गरिसकेका छन् । यसैबीच चर्चित अभिनेता अनुपविक्रम शाही पनि नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।
दर्जन बढी चलचित्रमा अभिनय गरेर यस क्षेत्रमा राम्रो ख्याती कमाएका अनुपले शुक्रबार गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई भेट गरेका छन् । शुक्रबार बिहान ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा खाणले अनुपसँग भेट गरेका हुन् । उनले नेपाल तरुण दलको सदस्यता पनि लिएका छन् ।
कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, पूर्व अध्यक्षहरू महेन्द्र यादव, उदयशम्शेर राणा, जितजंग बस्नेत लगायत सहभागी भएका थिए । अनुपलाई नेता खाणले स्वागत गरेका थिए । नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री रेखा थापा राप्रपामा, करिश्मा मानन्धर एमालेमा, भुवन केशी कांग्रेसमा छन् ।