काठमाडौं – नेकपा माओवादी केन्द्रले वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई पनि चुनाव चिह्न प्रयोग गर्न दिने भएको छ ।
मंगलबार बसेको पार्टीको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेसपा र गौतमलाई चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको हो ।
स्थायी कमिटी बैठकले बाबुरामसँगै वामदेवलाई पनि चुनाव चिह्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए । गौतम र भट्टराईको आग्रहअनुसार नै पार्टीले निर्णय गरेको महराले जानकारी दिए ।
गौतम र भट्टराई कमरेडले हाम्रो चुनाव चिह्नबाट आगामी संसदीय चुनावमा लड्ने विचार गर्नुभयो,’ प्रवक्ता महराले भने, ‘त्यसलाई हामी स्वागत गर्छौं। उहाँहरु र उहाँको पार्टीका अन्य सदस्यहरुलाई चुनावमा सहभागी हुन हामीले स्वीकृति गर्याैँ ।’ माओवादीले चुनाव चिह्न दिए पनि वामदेव कुन ठाउँबाट उठ्ने टुंगो भने लागेको छैन ।