काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले मैदानमा पुग्दासाथ रोनाल्डो मेस्सी नभइने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा गरेका हुन् । फुटबलको मैदानमा पुग्दासाथ रोनाल्डो मेस्सी सेस्सी सबै आउट गोल्डेन बुट म ल्याउँछु भनेर गफ दिएर नहुने उनको भनाई छ ।
ओलीले पुरानो पुस्तालाई विस्थापित गर्ने अभियानलाई इंगित गर्दै यस्तो बताएका हुन् । एकदिन घरबाट बाहिर ननिस्किएको मानिसले म्याराथन दौडेर स्वर्ण पदक जित्ने कुरा गरिएको उनले बताए ।
‘हामी चलाउँछौं देश अरे, एकदिन घरबाट बाहिर ननिस्किएको मानिसले म्याराथन दौडेर स्वर्ण पदक जित्ने कुरा गरेको जस्तो,’ उनले भने, ‘आमाले बनाएर दिएको खाना खाएर बाहिर निस्किएर स्वर्ण पदक जित्न गयो । एक किलोमिटर नपुग्दै स्याँस्याँ फ्याँफ्याँ भइहाल्छ ।’
उनले बुढालाई हटाएर आफैं युवा प्रोफेसर बनेर नहुने बताए । ओलीले यसैका लागि केही मापदण्डहरू बनाइएको तर्क गरे । ‘युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर हुँदैन । बुढा प्रोफेसरका पछि कति लाग्ने भनेर बुढालाई हटाएर आफैं युवा प्रोफेसर बनेर हुँदैन’, उनले भने, ‘पीएचडी लिन पनि समय चाहिन्छ । हतार गरेर हुँदैन ।’
यस भनाई पछि प्रधानमन्त्री शेरबहादुर देउवालाई च्यालेन्ज गरेर आगामी निर्वाचनमा डडेल्धुराबाट चुनाव लड्ने तयारीमा रहेका गुल्मीका सागर ढकालले पनि आफ्नो भनाई राखेका छन् । उनले सामाजिक सञ्जालमा यही भनाई शेयर गर्दै सोधेका छन् – ‘सम्माननीय पुर्व प्रम ज्यु ‘ मैदानमा छिर्नासाथ मेस्सि भइदैन ठिक हो तर मेस्सि भएर मैदान छिर्न चाहिँ पाइन्छ कि नाइ ?’
नेपाली कांग्रेसका सभापति देउवासँगै चुनावी प्रतिस्पर्धा गर्ने भन्दै च्यालेन्ज गरेका उनी बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएका हुन् । ढकालले अहिले हजुरबुवा पुस्तालाई आराम दिनुपर्ने अभियान चलाइरहेका छन् । आजभन्दा पाँच वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर उनी चर्चामा आएका थिए ।
४० बर्ष भन्दा कम उमेरका युवा नेता नै प्रधानमन्त्री हुनुपर्ने उनको भनाई छ । डडेलधुराको बिकट गाउँबाट चप्पल पढ्काएर राजनितिमा आएका देउवाले आफू जन्मिएदेखि जमिन नटेकेको र नेपाली जनताको पिडा सत्ताको मोहमा बिर्सिएको उनी बताउँछन् । लामो समयदेखि आफ्नो क्षेत्रमा पाइला नटेकेका देउवालाई यस पटक आफू त्यहाँ रहेर जमिन टेकाउने प्रयास गर्ने उनको भनाई छ ।