मेयर बालेनको निशानामा ‘अन्डरग्राउण्ड’-Sutra News

मेयर बालेनको निशानामा ‘अन्डरग्राउण्ड’

मंगलबार, ७ भाद्र २०७९

मंगलबार, ७ भाद्र २०७९

एउटा प्रयोजनका लागि स्वीकृति लिएर अर्कै प्रयोजन भइरहेको घर तथा पसलमाथि काठमाडौं महानगरपालिकाले कारबाही थालेको छ । ‘अन्डर ग्राउन्ड पार्किङ’का लागि स्वीकृति लिइएको क्षेत्रमा ‘पसल व्यवसाय सञ्चालन भइरहेको’ पाइएपछि भत्काउन थालिएको छ । महानगरपालिकाले काठमाडौंका सबै ठाउँमा क्रमशः अनुगमन गरी कारबाही तयारीसमेत थालेको छ ।



महानगर प्रमुख बालेन्द्र साह नेतृत्वमा सोमबार नयाँ बानेश्वर क्षेत्रमा अनधिकृत रूपमा सञ्चालित घरमा ‘कंक्रिट एक्ट्राक्टर’ मेसिन चलाइएको हो ।

‘अन्डर ग्राउन्ड पार्किङलाई अन्य प्रयोजनमा नलगाउन भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएकाले पार्किङ भनेर नक्सा पास भएका तर अन्य रूपमा प्रयोग भएका संरचना अनुगमन गरी कारबाही थालिएको’ प्रमुख साहले बताए । ‘हामीले सोमबार बानेश्वर क्षेत्रबाट कारबाही सुरु गरेका छौं,’ उनले भने, ‘विस्तारै सबैतिर महानगर पुग्नेछ, यसैले हामी अनुरोध गर्छाैं कि पार्किङका लागि बनाइएका संरचना पार्किङमै प्रयोग गरिदिनुहोला ।’

महानगर प्रवक्ता नवीन मानन्धरले ‘सवारीसाधन पार्किङका लागि’ भनी अनुमति मागेर व्यापार–व्यवसाय सञ्चालन गरेपछि ती ठाउँ खाली गराउन थालेको जानकारी दिए ।

काठमाडौं उपत्यकामा अधिकांश ठाउँमा ‘पार्किङका लागि’ भनेर नक्सा पास गरेर सटर भाडामा दिई व्यवसाय गर्ने गरेको पाइएको छ । महानगरपालिकाको यस्तो निर्णयप्रति घरधनीको विरोध रहे पनि सर्वसाधारणले भने स्वागत गरेका छन् ।

फुटपाथ नै छेक्नेगरी सञ्चालन भइरहेका व्यापार–व्यवसाय हटाउनसमेत सर्वसाधारणले माग गरेका छन् । काठमाडौंका धेरैजसो फुटपाथ क्षेत्र व्यापारीले कब्जा गर्ने गरेको पाइएको छ । हिँडडुल नै गर्न नमिल्नेगरी पसल तथा व्यवसायका सामग्री राख्ने गरिएको छ ।

कतिपय फुटपाथ क्षेत्र पसल व्यवसायी र कतिपयमा पार्किङस्थल बनाइएका छन् । महानगरपालिकाभित्रका फुटपाथमा व्यवसायीले मोटरसाइकल पार्किङ गरेर पैदलयात्रुका लागि हिँडडुल गर्न असहज पैदा गर्ने गरेकोसमेत पाइएको छ ।

फुटपाथ नै ढाक्नेगरी पसल व्यवसायका सामग्री राख्ने तथा मोटरसाइकल पार्किङस्थल बनाउँदासमेत महानगरपालिकाको ध्यान पुग्न सकेको छैन ।

महानगरभित्रकै कतिपय फुटपाथमा मोटरसाइकल सर्भिस सेन्टर सञ्चालन भइरहेको पाइएको छ । ती सेन्टरका कारण फुटपाथमा मोटरसाइकल मर्मतसम्भार गर्ने गरेका कारण पैदलयात्रु भने मुख्य सडकबाटै हिँड्नपर्ने समस्यासमेत देखिएको छ । जसका कारण दुर्घटनाको जोखिम बढ्ने गरेको छ । राजधानी दैनिकमा खबर छ

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट