काठमाडौं – भारतले अग्निपथ योजनाअनुसार गोर्खा सैनिक भर्ना गर्ने तयारी गरिएकोबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठक कोरम नपुगेर अनिश्चितकालका लागि स्थगित भएको छ ।
भारतमै विरोध भइरहेको अग्निपथ योजनाअनुसार गोर्खा सैनिक भर्ना गर्ने तयारी भारतले गरेको विषयमा छलफल गर्न बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बोलाइएको थियो । तर, कोरम नपुगेर स्थगित भएको छ ।
छलफलका लागि समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पनि बोलाएको थियो । तर, मन्त्री खड्कामात्र होइन समिति सदस्यहरु नै बैठकमा अनुपस्थित भए । जसकारण बैठक स्थगित हुन पुग्यो ।
२५ सदस्यीय समितिको बैठक बस्नका लागि १३ जना सदस्य उपस्थिति आवश्यक पर्नेमा जम्मा ७ जना मात्र उपस्थित भएपछि अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो ।