एजेन्सी – अभिनेत्री प्रियंका चोपडा, कटरिना कैफ र आलिया भट्टको अभिनय रहने फिल्म ‘जी ले जरा’ का कारण उनीहरूका फ्यान निकै उत्साहित थिए । यो फिल्मको छायांकन कहिले सुरु होला भन्ने चासो सर्वत्र थियो ।
तर, पछिल्लो विकसित घटनाक्रम हेर्दा यो फिल्म तत्कालका लागि धेरै पछाडि सरेको छ । फिल्मका तिनै अभिनेत्रीका कारण फिल्मको काम हालका लागि स्थगित गरिएको छ ।
‘वर्तमान समयमा आलिया र कटरिनाको निजी जीवनका कारण फिल्मको काम रोकिएको छ । आलिया अहिले पहिलो सन्तानको तयारीमा छिन् । त्यसकारण उनलाई यात्राको कथा समेटिएको यो फिल्ममा तत्काल अभिनय गराउन सम्भव छैन । प्रियंकाको छोरी पनि ६ महिनाकी मात्र भएकी छन् । उनी छोरीसँग अहिले खुशीका साथ बिताइरहेकी छन् । उनलाई पनि बोलाउन सम्भव छैन ।’ फिल्म निकट स्रोतले भनेको छ ।
कटरिनाको कुरा गर्दा अभिनेता विक्की कौशलसँग विवाह गरेपछि उनी चर्चामा छिन् । केही समयअघि मात्र उनलाई एक क्लिनिकबाट बाहिर निस्कँदै गरेको अवस्थामा पापराजीले भेटेका थिए । उनी पनि गर्भवती भएको हुनसक्ने अनुमान गरिएको छ । कटरिनाले सलमान खानसँगको फिल्म ‘टाइगर ३’ को काम सकिसकेकी छन् । उनी चाँडै ‘फोन भूत’को प्रमोसनमा व्यस्त हुँदैछिन् ।फरहान अख्तरले निर्देशन गर्ने ‘जी ले जरा’लाई प्रतिक्षित फिल्म मानिएको छ ।