महिलाको नग्न तस्बिरको व्यापार हुने गोप्य संसारको कथा-Sutra News

महिलाको नग्न तस्बिरको व्यापार हुने गोप्य संसारको कथा

आइतबार, १२ भाद्र २०७९

आइतबार, १२ भाद्र २०७९

सामाजिक सञ्जाल रेडिटमा अन्तरङ्ग तस्बिर र भिडिओ शेअर भएपछि यूकेका केही महिलाले अपरिचित मानिसहरूबाट धम्की र ब्ल्याकमेलको सामना गरिरहेका छन्।



बीबीसीले चुरोट सल्काउने एउटा पुरानो लाइटरको सहायताले त्यस्ता एक पुरुष पत्ता लगाएको छ।

“उनको नग्न तस्बिर पाँच पाउन्डमा, त्यसका लागि मलाई मेसेज गर्नूस् ।”

“मैले उनका केही भिडिओहरू पाएको छु, जुन व्यापारका लागि हुन् ।”

उनलाई के गर्ने?”

अनलाइनमा राखिएका ती तस्बिर र त्यसमा आएका प्रतिक्रियाहरू हेर्दै जाँदा मलाई गाह्रो भयो। त्यहाँ हजारौँ तस्बिरहरू थिए।

अर्धनग्न वा पूरै नग्न महिलाहरूको तस्बिर अन्त्यहीन लाग्थ्यो ।

ती तस्बिरका तल पुरुषहरूले महिलाबारे बलात्कारको धम्की र दुष्भावसहितका टिप्पणीहरू गरेका थिए। तीमध्ये मैले हेरेका धेरै त यहाँ उल्लेख गर्न पनि सक्दिनँ।

एक साथीले दिएको गोप्य सूचनाका आधारमा म ती तस्बिरहरू हेर्ने लिङ्कमा पुगेकी थिएँ।

उनको इन्स्टाग्राम खातामा रहेका तस्बिरमध्ये एउटालाई रेडिटमा राखिएको थियो।

त्यो नग्न तस्बिर थिएन तर त्यसमा पनि यौनजन्य भाषा प्रयोग गरेर प्रतिक्रिया जनाइएको थियो। त्यसले गर्दा उनी आफ्नै लागि र अन्य महिलाका लागि चिन्तित छिन्।

मैले त्यसरी तस्बिर थुप्रै भेटिने गरेको पाएँ। जो महिलाको तस्बिर हो उनीहरूको अनुमति नै नलिई गोप्य तस्बिरहरू शेअर र व्यापार गर्नकै लागि सयौँ अज्ञात प्रोफाइल रहेका छन्।

बदला लिनका लागि पूर्वसाथीसँगको यौन सामग्री बिनासहमति अनलाइन प्रकाशित गर्ने नयाँ क्रम जस्तै देखिन्छ।

यस्ता अन्तरङ्ग तस्बिरहरू हजारौँ प्रयोगकर्ताका लागि मात्रै शेअर गरिएका छैनन्, अज्ञात पुरुषहरूले ती महिला को हुन् भनेर खुलासा गर्न समूह नै बनाएका छन्।

अनलाइनमा महिलाहरूका ठेगाना, फोन नम्बर अनि सामाजिक सञ्जालका ह्यान्डलहरू फेरबदल गर्छन्। त्यसपछि महिलाहरूलाई निशाना बनाएर धम्की दिने अनि ब्ल्याकमेल गर्ने गरिन्छ।

मलाई यस्तो लाग्यो कि म इन्टरनेटको एउटा अँध्यारो कुनामा ठोक्किएँ। र, यी सबै एउटा प्रमुख सामाजिक सञ्जालको प्लेटफर्ममा भइरहेको थियो।

रेडिट आफैँले आफूलाई “इन्टरनेटको अग्र पृष्ठ” भनेको छ। उसले दैनिक पाँच करोड प्रयोगकर्ताहरू बनाएको छ। यूकेमा मात्रै चालिस लाख छन्।

त्यहाँ प्रयोगकर्तालाई “सबरेडिट्स” भनिने फोरम बनाउन दिइन्छ जसमा सबै खालका रुचिपूर्ण सामग्री राखिन्छ।

धेरै सबरेडिटस्‌हरू हानि नपुर्‍याउने हुन्छन् तर रेडिटको विगत हेर्ने हो भने त्यहाँ विवादास्पद यौन सामग्री धेरै पाइन्छ।

सन् २०१४ मा सेलिब्रिटीहरूको गोप्य तस्बिरहरू यो साइटमा शेअर गरिएको थियो। त्यसको चार वर्षपछि रेडिटले एक किसिमको आर्टिफिसिअल टेक्नोलोजी “डीपफेक” प्रविधि प्रयोग गर्ने समूहलाई बन्द गरिदियो।

उक्त समूहले सेलिब्रिटीहरूको अनुहार अश्लील भिडिओमा मिसाउने गर्थे।

यी विवादहरूप्रति प्रतिक्रिया जनाउँदै अमेरिकामा रहेको कम्पनीले कडा नियमहरू ल्यायो र सहमतिबिना मानिसहरूको गोप्य तस्बिर पोस्ट गर्नेमाथि प्रतिबन्ध लगाउने नियम कडा बनायो।

तर त्यसो गर्दागर्दै पनि महिलाका त्यस्ता अति गोप्य तस्बिरहरू कसरी रेडिटमा शेअर भइरहेका छन् र त्यसले असर गरेकाहरूका लागि त्यो कति पीडादायी हो भनेर म जान्न चाहन्थेँ।

यी सबैका पछाडि को छन् भनेर पनि म जान्न चाहन्थेँ।

रेडिटले लगाएको प्रतिबन्धले काम नगरेको देख्न सकिन्छ।

हामीले यूकेभरि नै महिलाका त्यस्ता तस्बिरहरू शेअर गर्ने कयौँ सबरेडिट्स्हरू पत्ता लगायौँ।

मैले देखेको पहिलो सबरेडिट्स् दक्षिण एशियाली महिलाहरूमा केन्द्रित छ र २०,००० भन्दा बढी प्रयोगकर्ता छन्।

तीमध्ये धेरैजसो एउटै समुदायका पुरुष हुन्। त्यहाँ हिन्दी, अङ्ग्रेजी, उर्दू र पन्जाबी भाषामा टिप्पणी जनाइएका छन्।

धेरै फलोअर भएका केही महिलाहरूलाई मैले चिनेँ र त्यसमा पनि केहीलाई त म व्यक्तिगत रूपमै चिन्थेँ।

त्यहाँ १५,००० भन्दा बढी तस्बिरहरू थिए। तीमध्ये हामीले १,००० वटा हेर्‍यौँ र त्यहाँ १५० जना महिलाको अश्लील तस्बिरहरू थिए  ।

त्यसमा महिलालाई यौन सामग्रीका रूपमा टिप्पणी गरिएको थियो। मलाई लाग्छ कि ती तस्बिर राख्न ती महिलाले सहमति दिएका होइनन् ।

महिलाका गोप्य तस्बिरहरू अज्ञात प्रयोगकर्ताले रेडिटमा राख्छन् जसमा धम्कीपूर्ण प्रतिक्रियाहरू जनाइएका हुन्छन्

हामीले सम्पर्क गरेकी एक महिलाले अहिले दैनिक सामाजिक सञ्जालहरूमा त्यस्तै प्रकृतिका अश्लील सन्देशहरू पाउँछिन्।

इन्स्टाग्रामबाट झिकिएको तस्बिरलाई त्यस्तो समूहले रेडिटमा राखिदिएपछि उनलाई त्यस्ता सन्देशहरू आउन थालेका हुन्, जसमा उनलाई बलात्कार गर्ने धम्की पनि पर्छन्।

सबरेडिटमा पनि पुरुषहरू महिलाहरूका त्यस्ता अश्लील तस्बिरहरू बिक्री गर्ने र शेअर गर्ने गर्छन्।

ती तस्बिरहरू सेल्फीजस्ता देखिन्छन् र सार्वजनिक नगर्ने गरी प्रेमीप्रेमिकाबीच आदानप्रदान भएका हुन्।

तिमीलाई खोज्ने छु’

एक नग्न महिलाले मुखमैथुन गरिरहेको तस्बिरहरू त्यहाँ देखिन्छ।

त्यसमा ती महिलालाई अपशब्द प्रयोग गरेर एक जना अज्ञात प्रयोगकर्ताले सोधेका छन्, “यी महिलाको कुनै भिडिओ पाइन्छ?”

“उनको पूरै फोल्डर मसँग छ। त्यसका लागि पाँच पाउन्ड पर्छ,” अर्का एकले भने।

“उनको सामाजिक सञ्जालको खाता के हो,” अर्को कसैले सोधेको छ।

आयसा – नाम परिवर्तन – उनले गत वर्ष सबरेडिटमा आफ्ना भिडिओहरू शेअर गरिएको थाहा पाइन्। उनका पूर्वप्रेमीले भिडिओ खिचेको उनलाई थाहा थियो।

उनले आफूमाथि विश्वासघात भएको परिस्थिति मात्रै झेलिनन्। त्यसपछि रेडिटमा उनका व्यक्तिगत विवरण पोस्ट भएसँगै सामाजिक सञ्जालमा आएका दुर्व्यवहार र धम्कीको पनि सामना गरिन्।

“यदि तिमीले मसँग यौन सम्बन्ध राख्न नमाने म यो तिम्रो अभिभावकलाई पठाइदिन्छु। म तिमीलाई खोज्नेछु… मसँग यौनसम्बन्ध राख्न नमाने म तिमीलाई बलात्कार गर्नेछु।”

उनलाई दुर्व्यवहार गर्नेले उनका थप तस्बिरमा ब्ल्याकमेल पनि गरे।

“पाकिस्तानी हुँ, हाम्रो समुदायमा विवाहअघि यौन सम्बन्ध राख्नु वा त्यस्तै गर्नु अस्वीकार्य कुरा हो,” उनले भनिन्।

आयशाले सामाजिक सञ्जाल चलाउन वा घरबाट बाहिर निस्किन छोडिन्। आफ्नो ज्यानै लिन खोजिन्।

आत्महत्याको प्रयासपछि उनले के भयो भनेर आफ्नो आमाबुवालाई भन्नुपर्‍यो। उनका अनुसार उनका आमाबुवा दुवै वितृष्णामा गए।

आफ्ना कारण त्यस्तो अवस्था निस्किएकोमा आफूलाई ग्लानि भएको उनले बताइन्।

आयशाले रेडिटलाई थुप्रै पटक सम्पर्क गरिन्। एउटा भिडिओ तत्कालै हटाइयो। तर अर्को भने हटाउन चार महिना लाग्यो। र त्यतिमै अन्त्य भएन।

हटाइएको भिडिओ सामग्री अन्य सामाजिक सञ्जालहरूमा पनि शेअर भइसकेको थियो र एक महिनापछि रेडिटमै पनि फेरि देखियो।

आयशालाई दुर्व्यवहार गर्ने सबरेडिट जिप्पोम्याड नामक प्रयोगकर्ताले चलाउँथे। अन्ततः जिप्पोम्याड नामले नै ती सामग्री हटाउने सुराकी दियो।

वास्तविक जीवनमा महिलाको व्यक्तिगत विवरण पत्ता लगाउन रेडिट प्रयोगकर्ताले सँगै काम गर्छन्

मोडरेटरका रूपमा जिप्पोम्याडले सबरेडिट छलफल समूहले रेडिटको नियमहरू पालना गरे नगरेको हेर्नुपर्छ। तर उनले त्यसको विपरीत गरे।

उनको सबरेडिट पहिलो पटक ट्र्याक गरेयता मैले त्यसको नयाँ भर्सन तीन पटक देखिसकेँ। उजुरी परेपछि रेडिटले अघिल्लो भर्सन हटाएसँगै उनी नयाँ भर्सन बनाउँथे।

ती प्रत्येक नयाँ अवतारमा उनले पहिला नै प्रयोग गरेका नाममा थोरै परिवर्तन गरेर राख्थे। त्यसमा पनि उस्तै सामग्री हुन्थ्यो र त्यसमा पनि हजारौँ सक्रिय प्रयोगकर्ता हुन्थे।

यसरी तस्बिरको व्यापार गर्ने यति बृहत् भयो कि विज्ञहरूले यस्तो अनलाइन हुने दुर्व्यवहारका लागि नाम नै दिए: कलेक्टर कल्चर।

युनिभर्सिटी अफ डरहममा कानुनकी प्राध्यापक रहेकी क्लेएर मक्ग्लिन यस्तो अनलाइन दुर्व्यवहारबारे विज्ञ हुन्।

उनी भन्छिन्: “यौन विकृत वा त्यस्ता खालकाले गरिरहेको प्रवृत्ति यो होइन। यस्तो गर्नेहरू थुप्रै छन्, दशौँ हजार पुरुषहरू छन्।”

प्राध्यापक मक्ग्लिनका अनुसार त्यस्ता तस्बिरको व्यापार सानो र निजी च्याट ग्रुपमा हुन्छ। साथै वेबसाइटमा पनि हुन्छ, जहाँ दशौँ हजार पुरुषहरू भेला हुन्छन्।

उनका अनुसार धेरै पुरुषहरूले त्यस्ता सहमति नलिइएका तस्बिरहरूको ठूलो सङ्कलन गरेर त्यो समुदायमा आफ्नो हैसियत बनाएका हुन्छन्।

त्यसै हुनाले पोस्ट भएका तस्बिरहरू हटाइए पनि फेरि पोस्ट हुन्छन्।

आयशाका तस्बिर सार्वजनिक भएपछि उनलाई धम्कीहरू आउन थालेका छन्

रेडिटमा पोस्ट भएका आफ्ना तस्बिरहरू हटाउन प्रयास गर्ने सात जना महिलाहरूले त्यसो गर्न कम्पनी त्यति सहयोगी नभएको बताए।

चार जनाको कहिल्यै पनि हटेन भने बाँकीको आठ महिनापछि मात्रै हट्यो।

रेडिटले सहमतिबिना नै शेअर गरिएका त्यस्ता ८८,००० तस्बिरहरू गत वर्ष हटाएको र यो विषयमा आफूहरू “अति गम्भीर” रहेको बताएको छ।

अनुमतिबिना नै पोस्ट गरिएका गोप्य तस्बिरहरू हटाउनका लागि छुट्टै टोली र स्वचालित संयन्त्र भएको रेडिटले जनाएको छ।

त्यस्ता फोरम बन्द गर्नेसहितका कदमहरू निरन्तर रूपमा आफूहरूले लिने गरेको पनि उसले जनाएको छ।

उक्त कम्पनीका प्रवक्ताले भने, “हामीलाई थाहा छ हामीले यसको पहिचान गरेर यसलाई छिट्टै रोक्न धेरै काम गर्नुपर्नेछ, त्यो उद्देश्य हासिल गर्न हामी हाम्रो टोलीलाई बलियो बनाउन काम गरिरहेका छौँ।”

प्रविधि कम्पनीजस्तै महिलाहरूको त्यस्तो निजी तस्बिरहरू अनलाइन शेअर गर्नबाट जोगाउन यूकेको कानुन पनि सङ्घर्षरत छ।

जोर्जीका अनुसार कानुनमा भएको छिद्रका कारण उनका गोप्य तस्बिर शेअर गर्ने उनका पूर्वप्रेमीविरुद्ध मुद्दा अभियोजन हुन सक्दैन

जब जोर्जीलाई एकजना अपरिचित व्यक्तिले सम्पर्क गरे र उनका गोप्य तस्बिरहरू इन्टरनेटमा शेअर भएको बताए उनी प्रहरीकहाँ पुगिन् ।

ती तस्बिरमा एकजना मानिसको मात्रै पहुँच भएको उनलाई थाहा थियो।

“कति मानिसले ती तस्बिर हेरे होलान् भनेर म हिसाब पनि गर्न सक्दिनँ? र थप मानिसहरूले ती तस्बिर नहेरुन् भनेर रोक्न सकिने कुनै तरिका पनि छैन। अहिले सायद मानिसहरूले हेरिरहेका पनि हुन सक्छन्,” उनले भनिन्।

उनका पूर्वप्रेमीले तस्बिरहरू आफूले शेअर गरेको स्वीकार गरे। तर उनी भन्छिन् तिनले “मलाई दुर्व्यवहार गर्न वा मेरो चित्त दुखाउन त्यसो गरेका थिएनन्।”

तर उनले यसो भने पनि उनीविरुद्ध कानुनी कारबाही गराउन विद्यमान कानुनमा छिद्रहरू छन्।

बदलास्वरुप अश्लील भिडिओहरू शेअर गर्नेविरुद्ध मुद्दा चलाउन यूकेको विद्यमान कानुन अनुसार ती व्यक्तिले अनुमतिबिना नै पीडितलाई हानी पुर्‍याउन त्यसो गरेको हो भन्ने प्रमाण चाहिन्छ।

सरकारलाई सल्लाह दिने एउटा स्वतन्त्र निकाय द ल कमीशनले हानी पुर्याउने आशय देखाउनुपर्ने प्रावधान हटाउन सरकारलाई सिफारिस गरेको छ। तर अनलाइन सुरक्षासम्बन्धी विधेयक संसद्‌‌मा रहँदा त्यसमा त्यस्तो परिवर्तन गरिएको छैन ।

आयशासहित दक्षिण एशियाली महिलालाई लक्षित गरेर फोरम बनाएका जिप्पोम्याड नामक रेडिट प्रयोगकर्ताबारे म पत्ता लगाउन चाहन्थेँ।

उनको टिप्पणीहरूको विगत हेर्दै जाँदा उनको वास्तविक नाम, इमेल ठेगाना र तस्बिर केही पनि थिएन। उनको युजरनेम मात्रै उनी को हुन् भनेर सुराकी गर्नका लागि उपलब्ध थियो।

उनले जिप्पो लाइटर सङ्कलन गर्थे र एउटा बिक्रीमा राखेका थिए। त्यसैमार्फत उनीसँग सम्पर्कमा आउनका लागि मैले एउटा नक्कली खाता खोलेँ र त्यो लाइटर किन्न प्रस्ताव राखेँ।

उनी एउटा भेटका लागि सहमत भए र परिचय नखुलाई हाम्रा संवाददाताले उनीसँग आमनेसामने भएर कुरा गर्न पाए। ती तिनै पुरुष हुन् जसले थुप्रै महिलाको निजी तस्बिरहरूको दुरुपयोग गर्ने रेडिटको त्यो फोरम बनाएका थिए।

उनको नाम हिमेश शिङ्गाडिया हो। उनी विश्वविद्यालय तहसम्म पढेका मानिस हुन् र एउटा ठूलो कम्पनीमा व्यवस्थापकका रूपमा काम गर्छन्।

मैले खोज्दै जाँदा यस्तो मानिस भेट्छु भनेर मैले सोचेकै थिइनँ।

पानोरामा टिमले उनलाई सम्पर्क गरेपछि शिङ्गाडियाले आफ्नो सबरेडिट मेटे।

एउटा विज्ञप्तिमा उनले “दक्षिण एशियाली महिलाहरूको प्रशंसा”को आशयमा समूह बनाएको बताएका छन्। प्रयोगकर्ताको सङ्ख्या उच्च भएका कारण उक्त फोरममा सामग्रीहरूको अनुगमन गर्न सम्भव नभएको उनले बताए।

उनले आफूले कहिल्यै पनि कसैको व्यक्तिगत विवरण र तस्बिरहरूको व्यापार नगरेको बताए। बरु महिलाहरूले आग्रह गर्दा आफूले त्यस्ता सामग्रीहरू हटाउन उनीहरूलाई मद्दत गरेको बताए।

“जिप्पोम्याड आफ्ना कदमका लागि एकदमै लज्जित छ, यसले उसको वास्तविक व्यक्तित्व देखाउँदैन,” विज्ञप्तिमा भनिएको छ ।

रेडिटले हामीले उल्लेख गरेका अन्य समूहहरूलाई पनि हटाएको छ ।

यसको अर्थ अन्तमा करिब १,००० महिलाको तस्बिरहरू हटाइएको छ ।

एउटा पीडापछि यो सानो राहत थियो।

प्रविधि कम्पनीहरू र सांसदहरूले थप महिलाहरूका त्यस्ता तस्बिरहरूको व्यापार रोक्नका लागि परिवर्तन गर्न आवश्यक छ।

जोर्जीले आफ्नो तस्बिर शेअर गर्ने आफ्ना पूर्व प्रेमीबारे भनेकी छन्: “म उसलाई सजाय होस् भन्ने चाहन्नँ। म उसले फेरि त्यस्तो काम नदोहोर्‍याओस् भन्ने मात्रै चाहन्छु।” बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट