रुस र अमेरिकाबीच पारमाणविक युद्ध भए भोकमरीबाट विश्वका ५ अर्ब मानिसको मृत्यु हुने-Sutra News

रुस र अमेरिकाबीच पारमाणविक युद्ध भए भोकमरीबाट विश्वका ५ अर्ब मानिसको मृत्यु हुने

आइतबार, १२ भाद्र २०७९

आइतबार, १२ भाद्र २०७९

एक नयाँ अध्ययनले अमेरिका र रुसबीच पारमाणविक युद्ध भएको खण्डमा विश्वभर पाँच अर्ब मानिस अर्थात विश्वको ७५ प्रतिशत जनसङ्ख्याले अनिकाल र भोकमरीका कारण मृत्युवरण गर्नुपर्ने देखाएको छ । न्युक्लियर अर्थात पारमाणविक हतियारबाट हुने विस्फोटका कारण भयानक आगलागी हुनेछ, वायुमण्डलमा अध्यधिक मात्रामा मुस्लो घुस्नेछ र त्यसले पृथ्वीको सतहमा सूर्यको प्रकाश आउनबाट रोक्नेछ ।



जसले गर्दा खाद्य उत्पादन सीमित हुने र अन्ततः मृत्युको भयानक शृङ्खला निम्त्याउनेछ । “विश्वका कयौँ प्रतिशत मानिसहरू भोकमरीमा पर्नेछन्,” रटगर युनिभर्सिटीका जलवायु वैज्ञानिक तथा अनुसन्धान टोलीका प्रमुख लिलि सियाले नेचरसँगको कुराकानीमा भनेका छन्, “यो साँच्चिकै नराम्रो हुनेछ ।”

यसअघिका अनुसन्धानलाई समेत आधार बनाउँदै अनुसन्धानकर्ताले गणनामा पारमाणविक हतियारको विस्फोटबाट वायुमण्डलमा सूर्यको प्रकाश छेक्ने आगलागीको मात्रा कतिसम्म हुनेछ भन्ने विश्लेषण गरेका छन् ।

“प्रकाशको मात्रा घट्दा विश्व चिसो हुनेछ र पारमाणविक युद्धपश्चात् लाग्ने व्यापार प्रतिबन्धले विश्वभर खाद्य सुरक्षाको भयावह स्थिति सिर्जना हुनेछ,” अध्ययनमा भनिएको छ ।

हामीले रोक्नैपर्छ पारमाणविक युद्ध’ 

“तथ्याङ्कले हामीलाई एउटा कुरा भन्छः न्युक्लियर युद्ध कहिल्यै नहुने गरी हामीले रोकथाम गर्नैपर्छ,” रटगर युनिभर्सिटी स्थित जलवायु विज्ञानका प्रोफेसर तथा शोधका सहलेखक अलन रोबोकले भनेका छन् ।

कुनै पनि पारमाणविक हतियार विस्फोटले पाँच मिलिग्रामभन्दा बढी (पाँच ट्रिलियन ग्राम) मुस्लो सिर्जना गर्ने पूर्वानुमान गरिएको छ । जसले गर्दा विश्वभरका करिब सबैजसो देशमा खाद्यान्न अभाव निम्तिनेछ ।

न्युजविक म्यागेजिनका अनुसार यसको चरम स्थितिमा अमेरिका, युरोप, रुस र गठबन्धन समर्थित सँगै अन्य थुप्रै देशको जनसङ्ख्याले मृत्यु भोग्नुपर्नेछ । शोधका लेखकहरूका अनुसार यस किसिमको अनुसन्धान अहिलेसम्मकै पहिलो हो ।

“यसअघि यस किसिमको अनुसन्धान कसैले गरेको थिएन,” रोबोकले भनेका छन्, “न त कसैले मृत्यु हुने मानिसहरूको सङ्ख्या नै गणना गरेका छन् ।” शोधका लेखकहरूले रुस र अमेरिकाबीचको पारमाणविक युद्धपश्चात भारत र पाकिस्तान वरपरको क्षेत्रमा अनिकालका कारण अढाई अर्ब मानिसहरूले मृत्यु वरण गर्ने र त्यसपछि कूल मृत्यु हुने मानिसहरूको सङ्ख्या पाँच अर्ब पुग्ने प्रक्षेपण गरेका छन् ।

नेचर डटकमका अनुसार पारमाणविक युद्धको जोखिम शीत युद्धकाल भन्दा अहिले कम देखिए पनि विभिन्न नौ देशसँग १२ हजारभन्दा बढी पारमाणविक हतियारहरू रहेका छन् । “यदि पारमाणविक हतियारहरू अस्तित्वमा छन् भने ती प्रयोगमा आउन सक्छन् र विश्व कतिपय समय पारमाणविक युद्धको नजिक भएर गुज्रिएको समेत छ,” रोबोक भन्छन् ।

“यस्ता पारमाणविक हतियारमाथि प्रतिबन्ध लगाउनु नै एकमात्र दीर्घकालिक समाधान हो ।” जारी रुस-युक्रेन युद्धका कारण पछिल्लो समय अमेरिका र रुसबीच पारमाणविक तनाव चुलिएको छ ।

रुस र युक्रेनबीचको युद्धकै कारण अहिले विश्वको खाद्य आपूर्ति शृङ्खलामा खलबलिएको बेला पारमाणविक युद्धको खतरा समेत बढ्दै गएको छ । यो अनुसन्धानपत्र ब्रिटिश पियर-रिभ्यू जर्नल नेचर फुडमा प्रकाशित भएको थियो । टेकपाना

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट