धम्कीका कारण जिरी अस्पताल डाक्टरबिहीन-Sutra News

धम्कीका कारण जिरी अस्पताल डाक्टरबिहीन

बुधबार, १५ भाद्र २०७९

बुधबार, १५ भाद्र २०७९

दोलखाको जिरी नगरपालिकाको जिरी अस्पताल यतिखेर डाक्टरबिहीन भएको छ । नगरपालिकाबाट संचालन भएको अस्पतालमा एमडिजीपी गरेको नवौं श्रेणिका डाक्टर नियुक्तिमा निबर्तमान डाक्टर देवेन्द्र गौतमले धम्की दिएका कारण समस्या उत्पन्न भएको हो ।



नगरपालिकाले विज्ञापन गरी अन्तरबार्ताको लागि छनौट भएका मेडिकल काउन्सिल रजिस्टर एमडिजीपी डा.अमरेन्द्र प्रसाद कुसवाहालाई तत्कालिन अवस्थामा प्रमुख रहेका गौतमले धम्की दिएका कारण नयाँ अन्तर्वार्तामा सहभागि हुने मौका नै पाएनन् । अस्पतालको क्षमता र मापदण्ड अनुसार नवौं श्रेणिका डाक्टर नियुक्ति गर्नुपर्ने हुँदा गौतम त्यसका लागि योग्य नभएपछि नगरपालिकाले अन्तर्बार्ताको लागि विज्ञापन निकालेको थियो ।

गत साउन ३० गतेबाट कार्यकाल सकिएका गौतमले धम्की दिएका कारण अस्पतालमा नयाँ डाक्टरको अन्तर्बार्ता र नियुक्ति दुबै रोकिएको नगरपालिकाले जनाएको छ । नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख केशव दाहालका अनुसार विषेशज्ञ डाक्टर नियुक्ति गर्न विज्ञापन निकालिएकोमा दुई जनाको आवेदन परेपनि एक जनाको योग्यता नपुगेको र एक जनाको मात्रै नाम छनौट भइ अन्तर्बार्ताको लागि बोलाइएको थियो । तर छनौटमा परेका कुसवाहा अन्तर्बार्तामा सहभागि भएनन् । आवेदन दिएका निवर्तमान अस्पताल प्रमुख गौतमको विषेशज्ञ सेवाको लागि योग्यता नपुगेको र मेडिकल काउन्सिलबाट लाइसेन्स नपाएको दाहालले जानकारी दिए ।

अन्तर्बार्ताका लागि छनोट भएका कुसवाहाले गौतमले गालिगलौज गरेको र धम्क्याएका कारण व्यक्तिगत रुपमा असुरक्षा महसुस भएपछि नगएको बताए । उनले माओवादीका केन्द्रीय सदस्य रहेका जिरीका नविन जिरेलले पनि नआउन चेतावनी दिएका कारण अन्तर्बार्तामा सहभागि हुन नसकेको बताए ।

धम्की दिएको विषयमा डा.गौतमसँग बुझ्दा उनले कुनै धम्की नदिएको तर स्वास्थ्य शाखासँग केही बिमति रहेका कारण विवाद भएको स्वीकार गरे । उनले आफ्नो पनि करिअर रहेको भन्दै स्वास्थ्य शाखा प्रमुख दाहाल र चरिकोट अस्पतालमा कार्यरत डा. विनोद दंगालले व्यक्तिगत लाभका लागि कार्यकाल नै नसकी हटाउन षडयन्त्र गरेको दावी गरे । दाहाल र दंगालसँग भएको विवादमा जिल्ला प्रहरी कार्यालमा मिलापत्र समेत भइसकेको गौतमले बताए ।

स्रोतका अनुसार गौतम डाक्टर मात्र नभएर औषधि व्यापारी पनि रहेको बुझिएको छ । उनले अस्पतालमै कार्यरत अहेब गौतम कुमाई साहलाई पनि फोनबाट गालिगलौज गरेका थिए । साहलाई गाली वेइज्जती र धम्की दिएको भन्दै गौतमविरुद्ध नगरपालिका प्रशासनमा उजुरी समेत परेको छ ।

गौतमले सामाजिक संजालमार्फत आफ्ना विरोधीहरुको चर्को आलोचना गर्ने र अपशब्दहरुले गाली गर्ने गरेको भेटिएको छ । समाजिक संजालमा उनले देखाएको हर्कतलाई लिएर यसअघि चरिकोट अस्पतालले निष्काशन गरेको फेला परेको छ ।

विषेशज्ञ डाक्टर नियुक्तिका लागि विज्ञापन गरेको र सोही अनुरुप दुईजना अस्पतालका निवर्तमान प्रमुख गौतम र कुसवाहले आवेदन दिएपनि दुबै जना अन्तर्बार्ताको लागि उपस्थित नभएको नगरपालीकाका प्रमुख मित्र जिरेलले जानकारी दिए । उनका अनुसार तोकिएको समयमा आवेदन दिएका एमडिजीपी गरेका डाक्टरहरु अन्तर्बार्तामा सहभागि नभएपछि नगरपालीकाले पुनः विज्ञापन गर्ने तयारी गरेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट