काठमाडौं – मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सबै राजनीतिक दलहरु आआफ्नो तयारीमा जुटेका छन् । यस्तै विभिन्न क्षेत्रबाट स्वतन्त्र उम्मेदवारहरु उठ्ने चर्चा पनि छ ।
यसैबीच आउँदो निर्वाचनमा चर्चित हास्यसिरियल सक्किगोनी का कलाकार मधुसुदन पाठक (सिते बा) पनि काठमाडौंबाट उठ्ने भएका छन् । उनी काठमाडौं क्षेत्र नम्बर ५ मा स्वतन्त्रबाट उम्मेदवार हुने भएका हुन् ।
बिहिबार ललितपुरमा भएको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा कार्यक्रममा उनी पनि थिए । उक्त कार्यक्रममा एकै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्न यो अभियान शुरु गरिएको बताइएको छ ।
यस्तै आउँदो चुनावमा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि झपाबाट उठ्दैछन् । उनी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्रबाटै झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने भएका हुन् । उनी उठ्ने क्षेत्र एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र हो ।
यस्तै यसअघिको स्थानीय तहको निर्वाचनमा पनि चर्चित गायक बालेन्द्र शाह बालेनले स्वतन्त्रबाट उठेर काठमाडौंको मेयरमा विजयी भएका थिए । अहिले काठमाडौंमा मेयर बालेनको कामको प्रशंसा गरिएको छ । बालेनको जितपछि निर्वाचनमा स्वतन्त्रबाट उठ्न चाहनेहरुको हौसला बढेको छ ।