चलचित्र ‘झिङ्गेदाउ’ : मौलिक र अग्र्यानिक, चलचित्र हेरेपछि कुन कलाकारले के भने ?-Sutra News

चलचित्र ‘झिङ्गेदाउ’ : मौलिक र अग्र्यानिक, चलचित्र हेरेपछि कुन कलाकारले के भने ?

बिहिबार, १६ भाद्र २०७९

बिहिबार, १६ भाद्र २०७९

काठमाडौँ – चलचित्र ‘झिङ्गेदाउ’को विशेष प्रदर्शनी गरिएको छ ।े कमलपोखरीस्थित विगमुभिजमा चलचित्र निर्माण पक्षले विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको हो । यही भदौ १७ गते शुक्रबारदेखि प्रदर्शनमा आउने सो चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्नुभएको हो ।



पारिवारिक कथावस्तुमा निर्माण भएको यस चलचित्रमा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता कुशल विष्ट, मुकुन भुसालको मुख्य भूमिका रहेको छ भने हिँउवाला गौतम, प्रतिक्षा शाह, सङ्गम भण्डारी, आर्यन खड्का, आशा भुषाल, अभयराज बराल, विजय देउजालगायत कलाकारको अभिनय रहेको छ । घरपरिवारमा दाजुभाइबीच हुने प्रेम, झैँझगडा तथा विवादलाई चलचित्रको विषयवस्तु बनाइएको छ । चलचित्रमा अभिनेत्री केकी अधिकारी र आँचल शर्माले जेठानी–देउरानीको भूमिका देख्न सकिन्छ ।

कार्यक्रममा कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसी, कलाकार दिपाश्री निरौला, दीपकराज गिरी, मिथिला शर्मा, उत्तम केसी, अभिनेत्री स्वस्तिमा खड्का, रिमा विश्वकर्मालगायतका कलाकारको उपस्थिति थियो ।

चलचित्र हेरेपश्चात कलाकारले अभिनेत्री हिँउवाला गौतमको अभिनयलाई निकै तारिफ गर्नुभएको थियो । “ चलचित्रमा नायकको भूमिका नै नायिकाले गर्नुभएको छ”, कलाकार मिथिला शर्माले भन्नुभयो । त्यसो भनिरहँदा अभिनेत्री गौतम निकै भावुक हुनुभएको थियो । “चलचित्र हेरेर हाँस्दाहाँस्दै सबैको आँखा रसाएको पत्तै नहुने रहेछ”, कलाकार शर्माले भन्नुभयो । त्यस्तै निर्देशक तथा कलाकार निरौलाले चलचित्रको कथावस्तु मौलिक र अग्र्यानिक रहेको बताउनुभएको छ ।

निर्माताका रूपमा सुलभ प्रतीक देउजा, समीक्षा देउजा रहनुभएको यस चलचित्रमा साहित्यकार भिमनिधि तिवारीको कथा कृतिमा आधारित कथावस्तु रहेको छ । कपनगडी सिनेमा र फिल्मक्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप भारद्वाजको पटकथा र संवाद रहेको छ । यसअघि सार्वजनिक भएको चलचित्रको गीतलाई दर्शकले निकै मन पराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट