काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सबै राजनीतिक दलहरु आआफ्नो तयारीमा जुटिरहेका छन् । निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन तालमेल गरेर जाने भनेपनि सिट बाँडफाँटका विषयमा भने टुंगो लागेको छैन । सिट बाँडफाँटको लागि सत्ता गठबन्धनका दलहरु निरन्तर छलफलमा जुटिरहेका छन् । तर दलहरुले आफ्नो सिट दाबीबाट पछि नहट्दा सहमती हुन सकिरहेको छैन ।
यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए ।
बिहिबार पनि गठबन्धन दलका नेताहरुबीच गहन छलफल भएको थियो । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई ५० सिट लिन प्रस्ताव गरेको स्रोतको भनाई छ । बैठकमा सहभागी रहेका एक नेताका अनुसार प्रचण्डले १६५ सिटमध्ये ५० प्रतिशत सिट कांग्रेसलाई राख्न र बाँकी सिट अन्य सत्तारुढ दललाई दिनुपर्ने प्रस्ताव राखेका थिए ।
प्रचण्डको यस प्रस्ताव अनुसार गएमा कांग्रेसले ८२ सिटसम्म पाउने देखिन्छ । एक सय सिट दाबी गर्दै आएको कांग्रेसलाई ५० प्रतिशतमा सहमती हुनु असम्भव नै हो । यस्तो प्रस्ताव गर्दा प्रचण्डले कांग्रेसलाई सिट बाँडफाँडको मामलामा पनि घुमाउन खोजेको देखिन्छ ।
बिहिबार छलफलको क्रममा सिट बाँडफाँडमा लगभग सहमती भएको बताइएको छ । सहमतिअनुसार कांग्रेस ८६ सिटमा मानेको स्रोतको भनाई छ । यस्तै माओवादी केन्द्र ४७, एकीकृत समाजवादी १८, जसपा १३ र राष्ट्रिय जनमोर्चा १ सिटमा चुनाव लड्ने सहमति भएको पनि बताइएको छ । सत्ता गठबन्धनका नेताहरुले सरकारलाई सघाउने उद्देश्यले नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन भएको थियो ।
कार्यदलमा कांग्रेसको तर्फबाट खड्कासँगै मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु छन् ।