काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको आरोप लागेको छ । एक १५ वर्षीया किशोरीले मंगलबार साझँ लामिछानेविरुद्ध सो आरोप लगाउँदै प्रहरी वृत्त गौशालामा उजुरी दिएकी हुन् ।
मंगलबार नै किशोरीले दिएको उजुरी दर्ता भइसकेको र मेडिकल परीक्षण समेत गराएको जनाइएको छ । जाहेरीमा पीडितले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गरेको र भेटेर प्रलोभन देखाइ जबरजस्ती गरेको बताएकी छिन् ।
गएको ५ गते नगरकोट घुमाउन लगेको र फर्किदा काठमाडौंको एक होटलमा बसालेर लामिछानेले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ । लामिछाने अहिले देश बाहिर छन् । उनी केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेका थिए ।