पल प्रकरण सेलाउन नपाउँदै सन्दीप प्रकरण चर्चामा : सन्दीपलाई हुनसक्छ १० बर्ष जेल सजाय-Sutra News

पल प्रकरण सेलाउन नपाउँदै सन्दीप प्रकरण चर्चामा : सन्दीपलाई हुनसक्छ १० बर्ष जेल सजाय

बिहिबार, २३ भाद्र २०७९

बिहिबार, २३ भाद्र २०७९

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कार आरोपमाथि प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ । मंगलबार साझँ प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध एक १७ वर्षीया किशोरीले उजुरी दिएकी थिइन् । उजुरीपछि प्रहरीले पीडित बालिकाको मंगलबार नै मेडिकल परीक्षण समेत गराएको थियो ।



जाहेरीमा पीडित बालिकाले सामाजिक सञ्जाल स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गरेको र पछि प्रलोभन देखाइ भेट्न बोलाएर जबरजस्ती गरेको जाहेरीमा उल्लेख गरेकी छिन् । गएको ५ गते नगरकोट घुमाउन लगेको र फर्किने क्रममा काठमाडौंको एक होटलमा बसौं भनेर जबर्जस्ती करणी गरेको उनले जाहेरीमा उल्लेख गरेकी छिन् ।

पीडितले लामिछानेले दुईपटक प्रलोभन देखाउदै जबरजस्ती गरेको समेत उनले प्रहरीसँग बताएकी थिइन् । पीडित बालिकाको जाहेरी र भनाईपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानकै क्रममा प्रहरी बुधबार काठमाडौं इन होटल पुग्यो । उक्त होटलमा सिसिटिभी फुटेज चेक गर्दा सन्दीप र पीडित बालिका दुवै देखिए ।

बालिकाले जुन समय दाबी गरेकी थिइन् सोही समयको सिसिटिभीमा हेर्दा दुवै जना होटलभित्र प्रवेश गरेको र बिहान साढे ६ बजे बाहिरिएको देखिएको प्रहरी स्रोतले जनाएको छ । होटलको अतिथि पुस्तिकामा भने उनीहरुको नाम थिएन । होटलका व्यवस्थापनले भने सन्दीप नियमित ग्राहक भएकाले फोन सम्पर्ककै आधारमा आफूहरुले कोठा दिएको बताए । उनले सन्दीपले फोनबाटै कोठा बुक गरेको बताए । प्रहरीका अनुसार ती बालिकालाई सन्दीपले गत ५ भदौ राति पिंगलास्थानस्थित होटलमा ३०५ नम्बरको कोठामा राखेका थिए ।

सन्दीपले बालिकालाई पुरानो बानेश्वरबाट आफ्नै गाडीमा राखेर नगरकोट पुर्‍याएका थिए । घुमघामको क्रममा राति ११ बजेसम्म रिसोर्टमै बसे। त्यसपछि राति ११ बजेर ५५ मिनेट जाँदा होटल काठमाडौं इनमा बसेर बिहान बिहान साढे ६ बजेतिर निस्किए । सन्दीपले बालिकालाई आफ्नै गाडीमा राखेर हास्टेलसम्म पुर्याएका थिए । प्रहरीले अहिले अन्य आवश्यक प्रमाण खोजी गरिरहेको छ ।

सन्दीप भने अहिले देश बाहिर छन् । उनी केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेका थिए । आफूमाथि लागेको आरोप बारे भने सन्दीपले केही बोलेका छैनन् ।

अहिले सन्दीपमाथि लागेको आरोप पुष्टि भए कस्तो सहजाय हुन्छ भन्ने धेरैको चासो पनि रहेको हुन्छ । यदि यो आरोप पुष्टि भएमा १० देखि १२ वर्ष कैद हुने कानुनी व्यवजस्था रहेको छ । आरोप पुष्टि भए मुलुकी अपराधसंहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसुरको उपदफा (३ं) (घ)मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने कानुनमा उल्लेख छ । यस्तै उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि ‘करणी’ मानिने समेत बताइएको छ ।

राष्ट्रिय क्रिकेट टिमको कप्तान समेत रहेका सन्दीप यो आरोप पुष्टी भए के गर्ने भन्ने दोधारमा क्यान पनि छ । नेपाल क्रिकेट संघले २०७८ पुस ४ गते राष्ट्रिय क्रिकेट टिमको कप्तानमा उनलाई नियुक्त गरेको थियो । लामिछानेले अहिले इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्स, बिग ब्यास लिगमा होबार्ट हुरिकेन र पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर सहित विश्वभर आयोजना हुने प्रमुख ट्वान्टी२० खेल प्रतियोगिताहरूमा खेल्ने गरेका छन् ।

जबर्जस्ती करणी गरेको आरोपमा अभिनेता पल शाहलाई पनि गएको मंगलबार साढे दुई बर्ष कैद सजाए सुनाइएको थियो । मंगलबार नवलपुर जिल्ला अदालतले नायक शाहलाई बाल यौन दुरुपयोगको कसुरमा साढे दुई बर्ष कैद , २५ हजार जरिवाना र १० लाख क्षतिपूर्ति सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट