नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई इमेलमार्फत राजीनामा पत्र पठाएका हुन् ।
एन्फा प्रवक्ता सुरेश शाहका अनुसार हाल कुवेतमा रहेका प्रशिक्षक अलमुताइरीको राजीनामाको विषयमा कार्यसमितिको बैठकले थप निर्णय गर्ने छ । प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत पनि राजीनामाको घोषणा गरेका छन् । नेपालको मुख्य प्रशिक्षक सम्हालेको पाँच सय २५ दिनपछि उहाँले राजीनामा दिएका हुन् । “नेपाली फुटबल सेवाको पाँच सय २५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु”, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
एन्फाले २०७७ चैत २२ गते एक वर्षका लागि अलमुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । त्यसपछि अलमुताइरी र एन्फाबीच २०७८ कात्तिकमा तीन वर्षका लागि नयाँ सम्झौता भएको थियो । अलमुताइरीको नेतृत्वमा नेपालले पहिलो पटक साफ च्याम्पियनशिपको फाइनल खेलेको थियो । गत असोजमा माल्दिभ्समा भएको उक्त च्याम्पियनशिपको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।
यसैगरी नेपालले अलमुताइरीको नेतृत्वमा एएफसी एसियन कप छनोटको दोस्रो चरणसमेत खेलेको थियो । गत वैशाख १३ गते अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए। अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडी बीचको विवाद समाधानका लागि एन्फाले छानबिन समितिसमेत गठन गरेको थियो ।
अलमुताइरीको अनुपस्थितिमा एन्फाले केही समयअघि मात्र मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । नेपालले आगामी असोज ११ गते दशरथ रङ्गशालामा बङ्गलादेशसँग उक्त मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ ।