अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय अछामका अनुसार कमलबजार नगरपालिका– ८ मा पाँच जना, कमलबजार कै वडानम्बर ६ मा ४ जना, तुर्माखाँद गाउँपालिका–५ मा दुई जना र ढकारी गाउँपालिका– ६ मा एक जनाको मृत्यु भएको छ ।
शुक्रबारदेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा घरमा पुरिएर उनीहरूको मृत्यु भएको हो । जिल्ला प्रशासनका अनुसार पहिरोमा परि ११ जना बेपत्ता भएका छन् भने ११ जनाक उद्धार गरिएको छ ।
बेपता हुनेमा तुर्माखाँदका ७ जना, ढकारीका एक जना, कमलबजारका ३ जना रहेका छन् ।
यता गृहमन्त्री बालकृष्ण खाणले बाढी र पहिरोमा परि घाइते भएकाहरु, प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् । गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे खाणले जानकारी लिएका छन् । उनले प्रजिअ मरासिनी र नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जिउधनको रक्षा गर्नु भएको भन्दै बाढी र पहिरोमा परि घाइते भएको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्न र जिल्लामा भएको स्रोत र साधनले अपुग भएमा मन्त्रालयमा तत्काल लेखि पठाउन निर्देशन दिए।