अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ।
अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ । यस्तै छ जना बेपत्ता छन् ।
उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएको छ । हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमलबजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ ।
प्रशासन कार्यालयकाअनुसार उक्त वडामा तीन जना पहिरामा परी बेपत्ता छन् । निमित्त प्रजिअ रिजालका अनुसार ढकारी गाउँपालिका–६ मा एक जनाको शव भेटिएको छ भने एक बेपत्ता छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले अछाममा पहिरामा परी मृत्यु भएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीमा प्रहरी परिचालन गरिएको बताए ।
‘यकिन विवरण आइसकेको छैन । मृतकको सङ्ख्या बढ्न सक्छ,’ उनले भने, ‘अछामका धेरै ठाउँमा पहिरो गएको खबर छ ।’
त्यस्तै सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने भीमदत्त मार्ग अवरुद्ध छ । अछाममा सञ्चार सेवासमेत अवरुद्ध छ । लगातारको वर्षाका कारण कैलाली र कञ्चनपुर सयौं परिवार डुबानका कारण विस्थापित भएका छन् । वर्षापछि कञ्चनपुरको मछेली, बनहरा र दोदा नदीको बाढी बस्तीमा पसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।