यहि असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षीत फिल्म ‘बाबरी’को क्रेज बढ्दो छ । विदेशमा एकपछि अर्को देशमा फिल्मको राइट्स सेल हुनुले यसको क्रेज बढेको देखाएको हो ।
फिल्म निर्माताले यतिखेर अष्ट्रेलिया र हङकङपछि फिल्मको दक्षिण कोरिया (सियोल) राइट्स पनि विक्री गरिसकेका छन् । केटिएम टू सियोल नामक कम्पनीका सिइओ यूविन श्रेष्ठले फिल्मको दक्षिण कोरियाको राइट्स खरिद गरेका हुन् ।
नेपालकै मितिमा दक्षिण कोरियामा पनि ‘बाबरी’लाई प्रदर्शन गर्ने तयारी गरिएको छ । निर्मात्री पुष्पालता बुढाथोकीले अन्य देशका लागि पनि कुराकानी चलिरहेको जानकारी दिइन् ।
सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्ममा धिरज मगर, धिरज नाडकर, अदिती बुढाथोकी, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतको अभिनय छ । गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेको फिल्मको सह(निर्मातामा सुष्मा गुरुङ छिन् । ‘बाबरी’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।
कोरोना महामारीले थलिएको नेपाली फिल्मको ओभरसिज मार्केट फिल्म ‘कबड्डी ४’ले लयमा फर्काएयता धेरै नेपाली फिल्म महंगोमा विभिन्न देशमा बिक्री भइसकेका छन् ।
केही वर्षयता विदेशमा नेपाली फिल्म प्रदर्शन हुने क्रम ह्वात्तै बढेको छ । जसले गर्दा विदेशमा बस्ने नेपालीले लगातार आफ्नो देशको फिल्म हेर्न पाइरहेका छन् भने निर्माताहरुले राहतको सास फेर्न पाएका छन् ।