प्रहरीलाई चक्मा दिन लागेको चाल पाएपछि सन्दीपलाई इन्टरपोलमार्फत पक्राउ गर्न प्रक्रिया अघि बढ्यो-Sutra News

प्रहरीलाई चक्मा दिन लागेको चाल पाएपछि सन्दीपलाई इन्टरपोलमार्फत पक्राउ गर्न प्रक्रिया अघि बढ्यो

आइतबार, २ असोज २०७९

आइतबार, २ असोज २०७९

काठमाडौं – बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा पनि राखिसकेको छ । प्रहरीले उनी नेपाल आउने बित्तकै पक्राउ गर्ने सुरमा छ । १७ वर्षीया नाबालिग बलात्कार गरेको आरोपमा आफूविरूद्ध पक्राउ पुर्जी जारी भएलगत्तै उनी क्यानको सम्पर्कमा आएका थिए । तर अहिले ११ दिन भइसक्दा पनि उनी सम्पर्कमा नभएको स्रोतको भनाई छ ।



टी-२० खेल खेल्न केन्या गएका उनी अहिले कहाँ छन् र के गर्दैछन् धेरैले चासो लिइरहेका छन् । सामाजिक सञ्जालमा विभिन्न प्रश्नहरु पनि उठ्न थालेका छन् । यता, प्रहरी सन्दीप आउलान् र च्याप्प समातौँला भनेर कुरेर बसेको छ । तर उनी सम्पर्कमा छैनन् ।

प्रहरी र क्यानको सम्पर्कमा नभएपछि अब उनलाई इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी गरिएको जनाइएको छ । एक प्रहरी अधिकारीका अनुसार अहिलेसम्म उनी सम्पर्कमा नआएकोले इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया सुरू गरिएको छ ।

यसअघि उनी दुबईमा हुनसक्ने भन्दै प्रहरीले अनुमान पनि गरेको थियो । तर त्यो पनि पुष्टि भएको छैन । सन्दीप समयमा नै नेपाल आएर कानुनलाई सम्मान गर्ने बताइरहे पनि प्रहरीको सम्पर्कमा नआएपछि यस्तो तयारी शुरु गरिएको जनाइएको छ ।

गत बिहीबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिए लगत्तै क्यानले उनलाई निलम्बनमा राखेपछि केही तनावमा देखिएका सन्दीपलाई प्रहरीले जहाँ भेट्यो त्यही पक्राउ गर्न अनुमति पाए पनि सन्दीप नेपाल नआएका कारण प्रहरी पर्ख र हेरको अवस्थामा छन् ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका उनी घटना भएको भोलिपल्टै केन्या पुगेका थिए। भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पुर्‍याएर पटक पटक बलात्कार गरेको आरोप उनीमाथि छ। जाहेरीमा पीडित बालिकाले सामाजिक सञ्जाल स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गरेको र पछि प्रलोभन देखाइ भेट्न बोलाएर जबरजस्ती गरेको जाहेरीमा उल्लेख गरेकी छिन् । गएको ५ गते नगरकोट घुमाउन लगेको र फर्किने क्रममा काठमाडौंको एक होटलमा बसौं भनेर जबर्जस्ती करणी गरेको उनले जाहेरीमा उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट