काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि अहिले सबै राजनीतिक दलहरु आआफ्नो तयारीमा जुटिरहेका छन् । निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन तालमेल गरेर जाने भनेपनि सिट बाँडफाँटका विषय अझै टुंगोमा पुग्न सकिरहेको छैन । यसैबीच निर्वाचन नजिकिदै गर्दा सत्ता गठबन्धनको ठुलो दल नेपाली कांग्रेसभित्रै विवाद भइरहेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाप्रति शेखर कोइराला पक्षले असन्तुष्ट पोख्दै आइरहेको छ । नेताहरुले देउवाले पार्टीभित्रको आन्तरिक एकतालाई भन्दा पाँच दलीय गठबन्धनलाई प्राथमिकतामा राखेको आरोप लगाइरहेका छन् ।
आन्तरिक एकता बलियो भएको अबस्थामा कांग्रेसलाई अरु दलसँग गठबन्धन गरेर जानुपर्ने अबस्था नआउने कोइराला पक्षका नेताहरुले दाबी गर्दै आइरहेका छन् । शनिवार बानेश्वरमा आयोजित कोइराला पक्षको खबरदारी सभामा कोइराला पक्षले समानुपातिकको बन्द सूची नसच्याइए र टिकट वितरणमा एकलौटी गरिए चुनावमा भाग नलिने चेतावनी दिएको छ ।
यस्तै आउँदो निर्वाचनमा टिकट बाँडफाँटमा आफ्नो पक्षकाले ४० प्रतिशत पाउँनै पर्ने नेता कोइरालाले दाबी नै गरेका छन् । त्यति मात्र होइन आफूहरुले भने जति टिकट नपाए पार्टीमा विद्रोह गर्ने चेतावनी समेत दिएका छन् । अहिले काँग्रेसको संस्थापनइतर समूह पार्टी नफुटाईहाले पनि प्रत्यक्षतर्फ देशभर विद्रोही उम्मेदवार खडा गर्ने तयारी समेत गरेको स्रोतको भनाई छ ।
अहिले कोइराला पक्षका केही नेताले निर्वाचन आयोगमा दल दर्ता गरेर समानुपातिक सूची बुझाएको चर्चा समेत चल्न थालेको छ । केही नेताहरुले आफ्नो पार्टीको भन्दा गठबन्धनका अन्य दलहरुमा देउवाले बढी प्राथमिकतामा राखेको भन्दै पार्टी विभाजनको अवस्था आउन सक्ने बताइरहेका छन् ।
कोइराला पक्षका नेताहरुको यस्तो भनाई सुनेपछि अहिले देउवा पनि तनावमा रहेका छन् । देउवा कोइराला पक्षलाई मिलाएर अघि बढ्ने पक्षमा छन् तर कोइराला पक्ष देउवाबाट वाक्क भएको कुराहरु गर्दै आइरहेको छ । यस्तो अवस्थामा कांग्रेस यदि विभाजन हुने अवस्था भएमा आउँदो निर्वाचनमा पार्टीमा ठुलो संकट पर्ने देखिन्छ ।