काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सबै राजनीतिक दलहरु आआफ्नो तयारीमा जुटिरहेका छन् । यस्तै निर्वाचनमा तालमेल गरेर जाने तयारीमा रहेको पाँच दलीय सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका विषय सहमति नजिक पुगेको छ ।
सिट बाँडफाँटको लागि सत्ता गठबन्धनका दलहरु लामोसमयदेखि छलफलमा जुटिरहेका थिए । गठबन्धनका सबै दलहरुले आफ्नो सिट दाबीबाट पछि नहट्दा सहमती हुन सकिरहेको थिएन । प्रतिनिधि सभाको १६५ र प्रदेशसभाको ३३० सिटलाई बाँडफाँट अन्तिम निष्कर्षमा पुगेको र बैठकबाट अब टुंगाइने एक नेताले बताए ।
अहिले प्रतिनिधिसभाको १६५ सिटमध्ये १५७ सिटमा सहमति बनेको बताइएको छ । बुधबार पनि अबेरसम्म गठबन्धन दलका नेताहरु छलफलमा थिए । स्रोतका अनुसार कांग्रेसले ८५, माओवादी केन्द्र ४१, एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टीले १२ र जनमोर्चाले २ पाउने निश्चित भइसकेको स्रोतको भनाई छ ।
यसअघि नेपाली कांग्रेसले एक सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए । सय सिट दाबी गर्दै आएको कांग्रेसलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५० सिट लिन प्रस्ताव गर्न भ्याएका थिए । अब भने सिट बाँफाडको काम अन्तिम सहमतिमा पुगेको छ ।
यता नेपाली कांग्रेसका सभापति शेरशहादुर देउवा भने पार्टीभित्रको किचलो समाधान तर्फ लागेका छन् । अब कांग्रेस सभापति देउवालाई गठबन्धन जोगाएर पार्टीभित्रको विवाद मिलाउन चुनौति हुने देखिएको छ । पार्टीको शेखर कोइराला पक्षले समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचीमा रहेको नाममा असन्तुष्टि जनाउदै आइरहेको छ । कोइराला पक्षका नेताहरुले देउवाले पार्टीभित्रको आन्तरिक एकतालाई भन्दा पाँच दलीय गठबन्धनलाई प्राथमिकतामा राखेको भन्दै असन्तुष्टि पोखिरहेका छन् ।
कोइराला पक्षको खबरदारी सभामा कोइराला पक्षले समानुपातिकको बन्द सूची नसच्याइए र टिकट वितरणमा एकलौटी गरिए चुनावमा भाग नलिने चेतावनी दिएको छ ।यस्तै आउँदो निर्वाचनमा टिकट बाँडफाँटमा आफ्नो पक्षकाले ४० प्रतिशत पाउँनै पर्ने नेता कोइरालाले दाबी नै गरेका छन् । त्यति मात्र होइन आफूहरुले भने जति टिकट नपाए पार्टीमा विद्रोह गर्ने चेतावनी समेत दिएका छन् ।
अहिले काँग्रेसको संस्थापनइतर समूह पार्टी नफुटाईहाले पनि प्रत्यक्षतर्फ देशभर विद्रोही उम्मेदवार खडा गर्ने तयारी समेत गरेको स्रोतको भनाई छ ।अहिले देउवा कोइराला पक्षलाई मिलाएर अघि बढ्ने पक्षमा छन् तर कोइराला पक्ष देउवाबाट वाक्क भएको कुराहरु गर्दै आइरहेको छ ।