-सचिन्द्र श्रेष्ठ विजयादशमी, भगवान रामको विजयको रुपमा मनाइने गरिने अथवा दुर्गा पूजाको रुपमा वा दुवैका रुपमा यो शक्ति-पूजाको पर्व हो ।
दशैँ- जसलाई राष्ट्रिय चाड पनि भन्ने गरिन्छ।हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरुको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रुपमा पुर्णिमासम्म मनाउने गर्छन्।
शस्त्र पूजनको तिथिको रुपमा मान्ने गरिन्छ। विजयादशमीको दिन महिषासुर राक्षसको बध, दुर्गाले दैत्य चण्ड-मुण्ड तथा शुम्भ-निशुम्भलाई बध गरेको खुसियालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलनका साथ घटस्थापना देखि सुरु हुने भए पनि एक महीने पहिलेदेखि चहलपहल चल्ने गर्दछ । नेवारी समाजमा मोहनी नखा: मान्ने चलन छ । सो अवसरमा चिउरा मासु खाने ,टाढा टाढाका आफ्ना घरका परिवार सँगै बसेर मान्ने गरिन्छ ।
मोहनी नखा:लागे पछि पहुना बस्न जान नहुने भन्ने चलन छ। घर परिवारसँग चुलो छूटेको भए पनि दशैका बेला सँगै बस्नु र खानु पर्ने चलन छ । दशैमा उबेला हाम्रा घर समाजनै छुट्टै रौनक देखिन्थ्यो । मिठो खाने खुवाउने, राम्रो लाउने, घरआँगन, बाटोघाटो, गाउँटोल सफा राख्ने जस्ता कार्य यही दशैँको अवसर पारेर प्राय:गर्ने गरिन्थ्यो ।
रातो माटोले लिपेका घर होस् या कमेंरोले पोतेको घर होस् छुट्टै सफा र एक रूपता देखिथ्यो। टाढा भिर पखेरामा राति नै उठेर रातो माटो,कमेरो लिन जानेको भीड़ देखिन्थ्यो जसका कारण दशै आउन लागेको संकेत प्रस्ट थाहा हुने गर्थ्यो।
अझ भन्नु पर्दा स्कूलमा समेत सबै जना बिद्यार्थीहरु मिलेर स्कूलमा समेत लिप पोत गर्ने ,रंग लगाउने गरेको हिजो जस्तो लाग्छ । त्यों बेला पढ़ने बेला खुला चौरमा पिंङ खेल्दै गर्दै गर्दा अलग्गै अनुभव हुने गर्दथ्यो र त्यस बखत ठुला ठुला घर नभएर खुला चौरमा गएर चंगा उडाउने र कसको चंगा कहा सम्म पुग्यो भनेर हेर्ने गरिन्थ्यो त्यसले छुट्टै मज्जा र चाड पर्व आएको आभाष दिने गर्थ्यो।
यस्तो महान चाड दशै आउने स्कूल बिदा दिने हुदा होमवर्क समेत धेरै शिक्षकले दिने गर्थे तर छिटो छिटो होमवर्क सकेर खेल्न जाने, डुल्ने भन्ने मनमा कौतूहलता लागेर होला मन नै फुरुङ्ग हुने गर्दथयो। तर आजकलको दशै सिमित घर र इन्टरनेटको जमानाले गर्दा त्यो खालको रमाइलोपन कता-कता कम भएको महसूस हुने गर्दछ । अझै दशै नाममा मात्र सिमित देखिन्छ ।
गाउँका ति पाखा पखेरा, कन्दराहरु, कोट र भञ्ज्याङ्का देउरालीहरुमा त्यो बेला रेडियो नेपालमा गुँजिने माला श्री धुन टाढा टाढा बाट बजेको सुन्दानै दशै आएको थाहा हुन्थ्यो । गाउँ सबै रमाइलो लाग्थ्यो । बजार सब सुनसान यसले नै दर्शाउने गर्थ्यो आफ्नो गाउमा दशैँ आयो र अझ लाहुरेहरु छुट्टी मनाउन आफ्नो घर आऊदा होस् या सहरमा ब्यबसाय गर्ने र पढ़ने बिद्यार्थी गाउ आउँदा होस् । गाउँ नै गाउँको देशमा गाउँलाई राज्यले सधैं उपेक्षा गरेको भन्ने गुनासो भैरहँदा हामी नेपाली मात्रको एउटा मौलिक चाड दशैंले कहिल्यै उपेक्षा गर्न सक्दैन ।
बजार भन्दा कयौ गुंना आनंद त्यों गाउँमा त्यस बखत देखिने गर्थ्यो। समय र आधुनिकीकरण सँगै आजकल यस्ता चाडपर्ब लोप भएकोमा दुःख लाग्दछ।
दशैंको साँस्कृतिक पक्ष पनि छ बलि दिने,घरमा रहेका धातु फलाम पूजा गर्ने ,हिन्दू सँस्कृति वीरताको पूजक अनि शौर्यको उपासक पनि रहेकाले हर्ष उल्लास तरीकाले मान्ने गरिन्छ ।ठुला बड़ा मान्यजनको आशिर्बाद लिने टिका जमरा थापन टाढा टाढा सम्म पुगेर राति एक्लै बसी कति पैसा उठ्यो भनेर गन्ने गर्दा मन अति खुसी हुने गर्थ्यो।
जसले धेरै दिन्छ उसकोमा अर्को दशैमा टिका लगाउन जाने खालको परिपाटीनै बस्थ्यो । नयाँ-नयाँ कपड़ा लगाएर आफ्ना वरिपरि साथी संगी भेट्ने र दशैमा राम्रो फ़िल्म आउँछ भनेर फ़िल्म हेर्न जाने गरिन्थ्यो। आजकल यो सब हराई सकेको छ।
सामाजिक,सांस्कृतिक, धार्मिक चाडपर्वले भनेकै आपसी भाइचारा, सद्भाव र सहिष्णुताको प्रतिक हो भनेर भन्दा फरक पर्दैन त्यसैले एक आपस रिस घमन्ड त्यागी परम्परा र संस्कृतिले सिकाएका राम्रा कुरालाई ग्रहण गर्दै नयाँलाई सिकाउँदै यो महान चाड दशैको शुभकामना ।